• Saturday 25th July 2026

मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, अर्थतन्त्र सुधार र सुशासनमा जोड : प्रधानमन्त्री प्रचण्ड

मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, अर्थतन्त्र सुधार र सुशासनमा जोड : प्रधानमन्त्री प्रचण्ड


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने बताउनु भएको छ ।

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सो जानकारी दिनुभएको हो । उहाँले संसद्को अधिवेशन पनि आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी पनि पत्रकारलाई दिनुभयो ।

उहाँले देशमा पछिल्लो समय देखिएका राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या र जनताका अन्य समस्या समाधानमा केन्द्रीकृत हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्ने गरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।”

नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी सङ्कल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने सङ्कल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो ।

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागेको उहाँको भनाइ छ । उहाँले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गर्नुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend