
काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । बुधबार दिउँसो १ बजेर ५ मिनेटमा सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो ।
सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थन छ ।
सङ्घीय संसद् सचिवालयले सभामुखमा उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि अपराह्न ४ बजेसम्म तोकिएको छ । त्यस्तै, आजै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूची छ ।
माघ ५ गते बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ । साथै, उम्मेदवारको सूचीमाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ ।
यस्तै नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुख पदको उम्मेदवारी दिएकी छन् ।
नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले सभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एसका प्रकाश ज्वाला रहेका छन् ।
उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

लुम्बिनी रिभ्यू