• Saturday 25th July 2026

नारायणगढ–बुटवल : सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदै

नारायणगढ–बुटवल : सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदै

नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ ।


  • लुम्बिनी रिभ्यू

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । वि.सं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दुष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । “सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो”, इन्जिनियर दिष्टीले भन्नुभयो, “म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।” अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरू भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताउनुभयो ।

नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताउनुभयो । “अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरू भइरहेका छन्”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।” भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताउनुभयो ।

सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरू हटाउने काम भइरहेको उहाँको भनाइ छ । “सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ”, इन्जिनियर ढकालले भन्नुभयो, “बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।” सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । “पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ”, उहाँले भन्नुभयो, “यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो ।

सूचना अधिकारी ढकालले हासम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिनुभयो । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा रु एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट रु नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैङ्क (एडिबी)ले उपलब्ध गराउनेछ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताउनुभयो । “अहिले हाम्रो साइटमा दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।” पहिले कोभिड, रूख कटान तथा खानेपानीको पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उहाँले बताउनुभयो ।

“परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ”, ठेक्का व्यवस्थापक झाले भन्नुभयो, “पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।” ठूला पुलहरूमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको बताउनुभयो । “आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।”

यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । “दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्”, झाले भन्नुभयो, “त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाइउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौँ ।” यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको झाले बताउनुभयो ।

नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाइउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुने राससले जनाएकाे छ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend