
बुटवल । विद्यमान लैंगिक विभेद र हिंसाका कारण महिला तथा तेस्रो लिंगी समुदायहरु विभेदमा परेको सरोकारवालाहरुले बताएका छन् । यही कारण एचआइभी संक्रमीत महिला एवं तेस्रोलिंगी समुदाय थप जटिलता र हिंसामा परेको उनीहरुको गुनासो छ ।
साकार समूहले शुक्रबार बुटवलमा आयोजना गरेको लैंगिक हिंसा र मानवअधिकार विषयक कार्यक्रममा
संक्रमणपछि पुरुषको तुलनामा महिलालाई घरपरिवार र समाजले दोषी देख्ने, घृणा गर्दा पुर्नस्थापनामा समस्या भोग्नु परेको उनीहरुले बताए ।
एचआइभी संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघको सहयोगमा साकार समूहले शुक्रबार बुटवलमा आयोजना गरेको लैंगिक हिंसा र मानवअधिकार विषयक कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । सहभागी चिजा परियारले संक्रमीत महिलाहरु हिंसामा पर्ने, पोषिलो खानेकुरा खानबाट छुट्ने र कुपोषणको शिकार हुनेक्रम बढेको बताइन् । कुपोषणका कारण रोगस“ग लड्ने क्षमताको विकास नहुने र अन्य रोगको संक्रमण बढ्दै जाने गरेको संक्रमीतहरुको दुखेसो छ ।
अधिकारकर्मी रम्भा श्रेष्ठले कतिपय संक्रमीत महिला र तेस्रो लिंगी समुदायको घरपरिवारले नागरिकता बनाउन र अंश दिन समेत नमानेको बताइन् ।
साकार समूहकी अध्यक्ष राधिका पुनले एचआइभी संक्रमीतमा हुने विभेदले पहिचान खोल्न नसकेको र त्यही कारण निशुल्क स्वास्थ्य बिमाबाट पनि छुटेको बताइन् । संक्रमितहरु विभेदमा परेका कारण वा पर्ने डरेले सम्बन्धित जिल्लाबाट सिफारिस ल्याउन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमबाट बन्चित हुनु परेको उनको गुनासो थियो ।
एचआइभी संक्रमीत महिलाहरुको राष्ट्रिय महासंघको सहयोगमा संक्रमीत महिलाहरुको सशक्तिकरण र लैंगिक हिंसा विरुद्ध पछिल्लो समय रुपन्देहीमा अभियान चलाइएको छ । अभियानमा संक्रमीतसंगै सरोकारवालाहरुलाई सहभागी गराएर लैंगिक हिंसा विरुद्ध प्रतिवद्धता गराउने गरिएको छ । कार्यक्रममा सहभागीहरुले लैंगिक विभेद र हिंसा रोकी सबैले मानव अधिकारको अनुभूति हुने वातावरण मिलाउन लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीकी अध्यक्ष अमृता अनमोलले लैंगिक हिंसा विरुद्ध उजुरी गर्ने, गुनासो गर्ने र न्यायिक प्रक्रियामा कसरी लाग्ने भन्नेबारे बताएकी थिइन् ।

लुम्बिनी रिभ्यू