
बुटवल । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल वायु सेवा निगमले पहिलोपटक उडान शुरु गरेको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ ।
साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् ।
नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत गरे ।भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंका लागि उडने छ ।
विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं ओर्लने छन् ।
मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । ०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो ।
जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।
भैरहवा विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई टर्न-अराउण्ड उडान भनिन्छ ।

लुम्बिनी रिभ्यू