
सुस्मिता पाण्डे
बुटवल, सरकारी तथ्यांक अनुसार महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य कमजोर रहेको र असुरक्षित गर्भपतन बढी हुने जिल्लामा पर्छ अर्घाखाची । प्रजनन स्वास्थ्यमा कमजोर भएकै कारण यहाका महिलाहरु विभिन्न रोगबाट ग्रसित छन् । कोही लैंगिक हिंसा समेत सहन बाध्य छन् । बिस्तारै अर्घाखाचीको यस्तो पहिचान बदलिन थालेको छ । पछिल्लो समय ग्रामिण क्षेत्रका महिलाहलाई पनि उनीहरुको यौन तथा प्रजनन स्वास्थ्यबारे जानकारी दिन थालिएको छ । यसले लाजको विषयमा लिने गरेको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा महिलाहरुले बोल्न थालेका छन् । यस सम्बन्धी आफ्ना समस्या राख्न कुनै समस्या आए निर्धक्क स्वास्थ्य उपचारमा स्वास्थ्य संस्थामा जान थालेका छन् ।
अर्घाखाँची जिल्लामा पछिल्लो समय आईपास नेपालले समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखाची मार्फत प्रजनन स्वास्थ्य सुधारका कार्यक्रम थालेको छ । यसअन्तरगत बेलाबेलामा यहा चेतना प्रवाहका काम हुन्छन् । सामाजिक रुपमा अगुवा महिलाहरुलाई स्थानीय महिला समूह, बालक्लब, युवा क्लब लगायतमा गएर प्रजनन स्वास्थ्यबारे जानकारी दिन्छन् । यसले महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य कमजोर रहेको र असुरक्षित गर्भपतनको क्रम केही कम भएको आकलन गरिएको छ । संस्थाका कार्यक्रम अधिकृत आदर्श अधिकारीले अगुवा महिलाका कुरा धेरैले सुन्ने र मान्ने भएकाले महिलाहरुको यौन तथा प्रजनन स्वास्थ्य सुधार्न र असुरक्षित गर्भपतन रोक्न यसो गरेको बताए ।
प्रजनन स्वास्थ्य भनेको हरेक व्यक्तिमा शारिरीक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन प्रणाली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । सचेतना अभियानमा समूहमा यसबारे पनि प्रष्ट पारिन्छ ।प्रजनन स्वास्थ्य अन्तरगत महत्वपूर्ण ९ विषय पर्छन् । त्यसमा परिवार नियोजन, सुरक्षित मातृत्व,नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार,गर्भपतनको कारणबाट उत्पन्न हुने समस्याहरूको रोकथाम तथा उपचार,यौन रोग संक्रमण एवं एचआईभी र एड्स, बा“झोपनको रोकथाम तथा उपचार
किशोरकिशोरीहरूको प्रजनन स्वास्थ्य,लैगिंकतामा आधारित हिंसाको रोकथाम तथा उपचार एवं प्रौढ महिलाहरूको प्रजनन स्वास्थ्य समेतका विषय पर्छन् । ती हरेक विषयमा समूहमा जानकारी गराइन्छ । प्रजनन स्वास्थ्य भनेको हरेक मानीसहरु शारिरीक, मानसीक तथा सामाजीक रुपमा नै प्रजनन् प्रणाली, यसको कार्य र प्रजनन प्रकृयाको सन्दर्भमा निरोगी हुनु हो । अहिले आइपास र त्यसका साझेदार सस्थाले राखेका सचेतना अभियानका अगुवा महिलाले समूहमा यसबारे पनि प्रष्ट पार्छन्। प्रत्येक व्यक्तिलाई प्रजनन स्वास्थ्य सम्बन्धी सेवा परामर्श तथा सूचना प्राप्त गर्ने अधिकार हुन्छ । यसबारे पनि समूहमा स्पष्ट पार्ने समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह भुमिकास्थान हटियाकी अगुवा मनिषा श्रेष्ठले बताइन् ।
स्वस्थ बच्चा जन्माउनु मात्र होइन इच्छा विपरित गर्भ रहे त्यसलाई फाल्ने गर्भपतन सम्बन्धी अधिकार महिलाहरुको प्रजनन सम्बन्धी अधिकारको विषय पनि हो । त्यसैले कुन कुन अबस्थामा गर्भपतन गर्न र गराउन मिल्ने भनेर कानुनमा स्पष्ट व्यवस्था गरेको छ । कुनै गर्भवती महिलाले अनिश्चित गर्भ छ भने सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत चिकित्सकबाट १२ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ । साथै गर्भवती महिलालाई मानसिक र शारीरिक रूपमा असर परेको तथा ज्यानै जाने खतरा भएमा वा विकलाङ्ग बच्चा जन्मिने सक्ने अवस्थामा चिकित्सकको सल्लाह अनुसार २८ हप्तासम्म पनि पनि गर्भपतन गराउन मिल्छ । आमा र बच्चालाई एचआईभी एड्स लगायत अन्य निको नहुने रोग लागेको छ वा जबरजस्ती करणी र हाडनाता करणीमा गर्भ रहेको छ भने पनि महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । सचेतना कक्षा र पैरवी कार्यक्रममा विभिन्न सरोकारवालाहरुलाई यसबारेमा पनि जानकारी दिने गरिएको समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखाचीका प्राविधिक सल्लाहकार बाबुराम पौडेलले बताए ।
यौन तथा प्रजनन स्वास्थ्य अन्तरगत व्यक्तिहरुले सुरक्षित र आनन्दमय यौन जीवनयापन गर्न सक्षम छन्, सन्तान जन्माउने क्षमता छ, सन्तान जन्माउने नजन्माउने, कहिले जन्माउने, कति समयमा जन्माउने भन्ने निर्णय गर्ने स्वतन्त्रता छ भन्ने कुराहरु पर्दछन् । आफूले चाहेको परिवार नियोजनका विविध साधन र विधिहरुको छनोट एवं उपयोग गर्न पाउने अधिकार प्रजनन् स्वास्थ्य भित्र पर्दछ । अगुवा महिलामार्फत दम्पतीलाई परिवार योजना बनाउन, सन्तान कहिले जन्माउने, कति जन्माउने भन्नेबारे निर्णय गर्न र नियोजनका लागि साधनको छनोट गर्न समेत सिकाउने गरिएको पाणिनी गाउपालिका ५ बोखरकी सामाजिक अगुवा झरना सुनारले बताइन् ।
यौन तथा प्रजनन स्वास्थ्यबारे राम्रोसित बुझ्न नसक्दा किशोरकिशोरीहरुको प्रजनन स्वास्थ्य बिग्रीएको पाइन्छ । यौन कौतुहलताबारे सही जानकारी दिन नसक्दा उनीहरु कुलतमा लागेको पाइन्छ । लैंगिकताका आधारमा हिंसा हुने र इच्छा विपरित गर्भ रहने गर्छ । लैंगिक हिंसाको रोकथाम तथा उपचारमा सहजता ल्याउने उद्धेश्यले नजीकका स्वास्थ्य संस्थामा सहज रुपमा सेवा दिउन् भन्ने उद्धेश्यले धेरैजसो स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविका र जनप्रतिनिधिहरुलाई समेत जानकारी गराउने गरेको मालारानी गाउपालिका ६ मेहेलपानीकी सामाजिक अगुवा रमिता राउतले बताइन् ।
आइपास अन्तरगतको सुरक्षित गर्भपतन सम्बन्धि परियोजना ३ वर्षअघि अर्घाखाचीमा सुरु भएको हो । जुन सन्धिखर्क र शितगंगा नगरपालिका एवं भूमिकास्थान र पाणिनी गाउपालिकामा कार्यान्वयनमा छ । यसअन्तरगत प्रजनन स्वास्थ्य सुधारका लागि स्थानीय तहको पायक पर्ने वडा तथा अन्य किसिमले सामुदायिक अगुवाहरु निर्माण गरी, उनीहरुको सहजीकरणमा जनचेतना, तथा वकालत गरिएको कार्यक्रम संयोजक आदर्श अधिकारीले बताए । पाणिनी गाउपालिकाकी उपाध्यक्ष नर्मदा गौतम पौडेलले पहिले पहिले लाको विषय मानिने प्रजनन स्वास्थय, यौन स्वास्थ्य र सुरक्षित गर्भपतनबारे ग्रामिण क्षेत्रका महिलाहरु पछिल्लो समयमा खुल्न थालेको र समस्या आउदा स्वास्थ्य संस्थामा जान थालेको बताइन् । सबै नागरिकमा चेतना फैलाउन र स्वास्थ्य सेवाको पहुंच बढाउन भने सरकारी तबरले समेत दीर्घकालिन योजना ल्याउनु पर्ने र भौतिक पूर्वाधार सुधारका कार्यक्रम गरिनु पर्ने उनको भनाइ छ ।

लुम्बिनी रिभ्यू