बुटवल
। लुम्बिनी प्रदेशका प्रदेश सभा,मन्त्रालय र मुख्य कार्यलय रहेको बुटवलमा जनप्रतिनिधि र ती कार्यलयका कर्मचारीहरुमा कोरोना संक्रमण उच्च दरले बढेको छ ।
पछिल्लो पटक लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाव परिक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, प्रदेश सभा सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो ।
जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जनामा समेत संक्रमण देखिएको स्वास्थ्य निरीक्षक डिलाराम भुसालले बताउनु भयो । यो यही कार्यलय हो,जहाँ प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावमा तोडफोड,घम्साघम्सी भएका थिए । सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाव संकरलन गरी परिक्षणमा पठाइएको थियो । त्यसमध्ये १० जनाको नतिजा आउन अझै बाकी छ । संक्रमित कर्मचारीको व्यवस्थापन कहाँ कसरी गर्ने भन्नेबारे तयारी भइरहेको प्रवक्ता श्याम प्रसाद श्रेष्ठले बताउनुभयो ।
उपसभामुख कृष्णी थारुले आफू र आफ्नी कार्यालय सहयोगीमा संक्रमण देखिएपछि भैरहवास्थित निवासको आइसोलेसनमा बसेको बताउनुभयो । यसअघि सभामुख सहित आन्तरीक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य एवं उद्योग पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपाने, लेखा समिति सभापति डिल्लीबहादुर चौधरीमा कोरोना संक्रमण देखिएको थियो ।
राजधानी केन्द्रित मुद्दामा पक्ष र बिपक्षमा लबिंग गरेका बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुमा पनि संक्रमण देखिएको छ ।
-दीपक ज्ञवालीले लेखेको यो समाचार र तस्बिर गोखापत्रबाट लिईएको हो ।

लुम्बिनी रिभ्यू