
बुटवल, बुटवलमा बृहत सरसफाइ अभियान थालिएको छ ।
नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवद्धन गर्न भन्दै बुटवल उपमहानगरपालिकाले सोमबारदेखि विशेष अभियान थालेको हो । सिद्धार्थ राजमार्गको योगीकुटीबाट सुरु गरिएको सरसफाइमा सडक क्ष्ँेत्रमा भएका फोहोर फाल्ने, सडक बडार्ने, सडक छेउका बिरुवा काटछाट गर्ने, पानीको निकास खोल्ने लगायतको काम गरिएको थियो । सरसफाइ गरिएको सडक क्षेत्रको डिभाइडरमा वृक्षरोपणसमेत गरिएको थियो । सरसफाइ अभियानमा जनप्रतिनिधिसंगै प्रहरी, सेना, संघसस्थाका प्रतिनिधि, जनप्रतिनिधि, टोलविकास संस्थाका सदस्यहरु खटेका थिए ।

देशको केन्द्रभागमा रहेको बुटवलमा सरसफाइ तथा हरियाली प्रवद्धन गर्न नियमित सरसफाइका गतिविधी गर्ने उपमहानगरप्रमुख खेलराज पाण्डेयले बताए । जसमा तालिका बनाएर नगरभित्रका सडक, सार्वजनीक क्षेत्र एवं खोला र नहर सरसफाइ गर्ने छ भने खाली क्षेत्रमा वृक्षरोपण गर्नेछ । सरसफाइसंगै खोलामा ढल मिसाउने, फोहोर फाल्ने काम रोक्न उपभोक्ता समितिमार्फत सचेतना कार्यक्रम अघि बढाएको छ । पहिलो चरणमा घरघरमा सचेतना बोर्ड राख्ने र दोस्रो चरणमा टोल समितिको अगुवाईमा फोहोर गर्नेलाई जरिवानासहितको कारवाही गर्ने उपमहानगरका उपप्रमुख सावित्रीदेवी अर्यालले बताइन् । बुटवल शहरमा दैनिक ७० टन फोहोर उत्पादन हुन्छ । उक्त फोहोर व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र भने छैन । उपमहानगरले फोहोर उठाएर तिनाउ नदी किनारमा फाल्छ । यसबाहेक खोला नहरका छेउमा बस्ने स्थानीयले समेत फोहोर फाल्दा बुटवल दुर्गन्धित बन्दै गएको छ ।

लुम्बिनी रिभ्यू