• Saturday 25th July 2026

नेपालमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा,विश्वमा कति छन् ?

नेपालमा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा,विश्वमा कति छन् ?


  • लुम्बिनी रिभ्यू

झापा । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।

“बेतना सिमसारमा धेरै वर्ष अघिदेखि पाउने गरिएको ती कछुवालाई मयूर प्वाँखे कछुवा भन्ने गरिन्थ्यो, तर त्यसको च्यापु हेरेपछि थाहाभयो यो नेपालको लागि नयाँ प्रजातिको कछुवा भनेर,” वातावरण पत्रकार साथै प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताउनुभयो ।

सन् २०२२ मा आरको नेपालको सहयोगमा अस्ट्रियाका वैज्ञानिक डा. पिटर प्रस्छाङको नेतृत्वमा गरिएको अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । जसको वैज्ञानिक नाम ‘निलोस्सोनिया निगृकन्स’ रहेको छ । उक्त अनुसन्धान टोलीका एक सदस्य तपसिल प्रकाश राईका अनुसार उक्त कछुवा ‘आइयुसीएन’मा अति सङ्कटापन्न प्रजातिको रूपमा सूचीकृत रहेको बताउनुभयो । नरम स्वभावको, मानिससँग घुलमिल हुन रुचाउने उक्त कछुवा ७० देखि ८० किलोसम्मको हुने र बेतना सिमसारमा करिब दुई दर्जनको सङ्ख्यामा रहेको अनुसन्धान टोलीका सदस्य तपसिल प्रकाश राईले जानकारी दिनुभयो ।

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको राईले बताउनुभयो । ठुला प्रजातिको संरक्षणमा सरकारले चासो देखाए पनि कछुवाका लागि भने ध्यान नदिएको अनुसन्धानकर्ताहरू बताउनुहुन्छ । सरकारीस्तरबाटै यो प्रजाति संरक्षणका लागि चासो हुनुपर्ने उहाँहरूको माग रहेको छ । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् ।

तराईका केही जिल्लामा मात्र भेटिने मयूर प्वाँखे कछुवा अन्यन्त्रको तुलनामा पूर्वी नेपालमा बढी मात्रामा भेटिने गरेको छ । सिमसारमा कृत्रिम संरचना निर्माण गर्दा वासस्थान विनाश हुँदै गएको र चोरी तस्करी नियन्त्रण हुन नसक्दा यसको अस्तित्व लोप हुने खतरा रहेको छ । सर्वाहारी यो कछुवा आइयुसीएन रेड लिस्टमा सङ्कटापन्न सूचीमा छ अर्थात् यो प्रजातिको कछुवा र बाघ दुवै एउटै सूचीमा छन् । “बाघको संरक्षणमा जति महत्त्व छ, यो कछुवा संरक्षणमा पनि त्यति नै महत्त्व छ । ठुलो टाउको पिठ्युँ (खपटा) मा बुट्टाजस्तो देखिने ठ्याक्कै, मयूरको प्वाँखको बीच भागको आँखाजस्तो देखिने बुट्टा बाहिरी अवरण हेर्दै थाहा हुन्छ मयूर प्वाँखे कछुवा”, स्थानीय बेलबारी–९ का काचिलाल धिमालले बताउनुभयो ।

फाट्टफुट्ट मात्र देखिएको यो मयूरको प्वाँखे कछुवा अन्य कछुवाकै रूपमा लिइएको र यसको महत्वबारे आफूलाई थाहा नभएको धिमाल बताउनुहुन्छ । “बेतना सिमसारमा घुम्न आउने पर्यटकले भुजा, सोयाबिनलगायत चारोको रूपमा सिमसारमा हालेपछि त्यही खान माछा सँगसँगै कछुवा पनि आउँछन् तर चारो हाल्ने बित्तिकै खान आइहाल्छ भन्ने हुँदैन तर लामो समय पर्खिएर हेर्दा भने पक्कै देखिन्छ”, बेतना सिमसारका कर्मचारी प्रमुख धनबहादुर राईले बताउनुभयो ।

नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने मयूर प्वाँखे कछुवा नेपालमा पाइने कछुवा प्रजातिभन्दा केही ठुलो हुन्छ । रातको समयमा सक्रिय हुने यो प्रजातिले शङ्के किरा, माछा, गँड्यौलालगायत स–साना प्रजाति खान्छ । एक पटकमा २० देखि ३० वटासम्म फुल पार्छ । अगस्ट र नोभेम्बर महिनामा फुल पार्ने र जुनदेखि जुलाइमा कोरल्छ । दलदलमा बस्ने यो कछुवाले माटोमुनि नै बस्न रुचाउँछ । भालेभन्दा पोथी केही ठुलो हुने यो प्रजातिको कछुवा नेपालमा अधिक चोरी सिकार हुने प्रजातिभित्र पर्छ । यो प्रजातिको बारेमा अध्ययन अनुसन्धान कम हुँदा यसको अवस्थाबारे थाहा हुन छाडेको छ । वि.सं २०७५ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशन गरेको एक विवरणमा उक्त प्रजातिको कछुवा सुनसरी, चितवन र बर्दियामा पाइने  राससकाे समाचार उल्लेख गर्दै विभिन्न सञ्चारमाध्ययमहरूले जनाएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend