• Saturday 25th July 2026

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो लुम्बिनी आउदै,यस्तो छ भ्रमणकाे तयारी

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो लुम्बिनी आउदै,यस्तो छ भ्रमणकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रसको बुद्धजन्मस्थल लुम्बिनीमा हुने भ्रमणको तयारी थालिएको छ ।
नेपालको चार दिने भ्रमणका क्रममा कात्तिक १४ गते बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी शुरु गरेको हो । कोषले शनिबार लुम्बिनी साँस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरुसँग बैठक गरी महासचिव गुटेर्रसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल भएकाे छ । महासचिव गुटेर्रस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा कात्तिक १२ (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेर्रसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे । महासचिवकाे भ्रमणले लुम्बिनीबाट विश्वशान्तिकाे सन्देश विश्वभर दिन सकिने उनलेे बताए । महासचिव गुटेर्रसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगै लिएर आउनेछन् । १४ गते विहान ८:३५ बजे गाैतमबुद्व अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने र त्यहाँबाट हेलिकप्टरमा सिधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेकाे छ । महासचिव गुटेर्रसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदिप हुँदै मायादेवी मन्दिरसम्म जाने बताइएकाे छ ।
बैठकमा काेषका काेषाध्यक्ष सिद्विचरण भट्टराई, लुम्बिनी साँस्कृतिक नगरपामलिकाका प्रमुख सजरूद्विन खान, उपप्रमुख कल्पना हरिजन, काेषका सदस्यसचिव सानुराजा शाक्य, याेजना प्रमुख सराेज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि महासचिव गुटेर्रसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो। गुटेर्रसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ ।
महासचिव गुटेर्रस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। संयुक्त राष्ट्रसङ्घको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो । उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।
यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए । त्यतिखेर पनि मुनले लुम्बिनी भ्रमण गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend