बुटवल । विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले आफू अनुकलन राहत पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने भएको छ । विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले राहत तथा सहयोगलाई प्रभावकारी बनाउनका लागि एकद्वार नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।
रुपन्देही प्रशासनले जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सङ्घसंस्था तथा सरोकारवालाहरूसँगको बैठक राखेर प्रचारमुखी र लोकप्रियताका लागि घोषणा गरिने राहतलाई निरुत्साहित गर्ने निर्णय समेत गरेको छ ।
भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति पुर्याएको थियो ।
कार्यालयले स्थानीय सरकार, सङ्घ–संस्था तथा व्यक्तिले गर्ने सहयोगलाई जिल्ला प्रशासन कार्यालयमा सङ्कलन गरी स्थानीय प्रशासनमार्फत प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको अभाव रहेको बुझिएकाले सोहीअनुरूपको राहत सामग्री सङ्कलन गरी पठाउन लागिएको बताउनुभयो ।
खाद्यान्न तथा अन्य राहत सामग्री पठाउनका लागि रुपन्देहीमा कार्यालयमा रहेका दुईवटा ट्रक र समितिले उपलब्ध गराउने चार वटा ट्रकमा तत्काल ती ट्रकबाट खाद्यान्न तथा लत्ताकपडा पठाउन लागिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो ।

लुम्बिनी रिभ्यू