• Saturday 25th July 2026

एमालेबाहेक अरुले देश बनाउन सक्दैन :ओली

एमालेबाहेक अरुले देश बनाउन सक्दैन :ओली


  • लुम्बिनी रिभ्यू

गुल्मी ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आव्हान गरेको मिसन ०८४ देशको समृद्धि र विकासका लागि भएको बताएका छन् ।
पार्टीले मंसिर १४ गतेबाट सुरु गरेको झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत मंसिर २० गते गुल्मीको वामीटक्सारमा बुधबार साँझ आयोजित बिशाल सभालाई सम्बोधन गर्दै उनले भने ‘ मिसन ०८४ एमालेका लागि होइन देशको समृद्धिका लागि, विकास लागि हो । एमाले विकासको काम गर्ने पार्टी हो जनताको पार्टी भन्ने बिगतमा काम गरेर देखाएकोले सबै शक्ति एमालेविरुद्ध लाग्दा पनि पहिलो शक्ति बनेका छौं, अहिलेको अपार समर्थन पाएका हौं ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले देशको विकास एमालेबाहेक अरु कसैले गर्न नसक्ने दावी गरे । ‘हामी बनाउँछौं हाम्रो देश, त्यसका लागि एमालेले नेतृत्व गर्नेछ तराईको मेचीमहाकाली यात्रा सकेर मध्यपहाडी यात्रा थालेका हौं, जनताको वास्तविक अवस्था बुझेर, सुझावहरु संकलन गरेर आगामी यात्रा तय गर्नेछौं’ उनले भने ।


अध्यक्ष ओलीले भने ‘एमालेबाहेक अरुले देश बनाउन सक्दैन, एमालेको एकल सरकारबाट मात्र त्यो संभव छ भन्ने सबै जिल्लामा दिएको उत्साहले प्रमाणित गरेको छ । सरकारबाट एमाले हटेपछि देश कंगाल बन्दै गएको छ, अब एमालेलाई एकल बहुमत दिलाउन सबैको साथ चाहियो ।’ उनले सभामा सहभागी नेताकार्यकर्तालाई आग्रह गर्दै भने – ‘आन्तरिक एकता गरेर पार्टीलाई जनताको काममा प्रतिवद्ध भएर लाग्नुस्, लुम्बिनी आन्दोलनको केन्द्र हो, ०७ सालदेखि यहाँको राष्ट्रभावको प्रतिनिधित्व गरिरहेको इतिहास छ । एमालेले पनि यहाँबाट त्यो साथ पाइरहेको छ अब पनि पाइरहने छ ।’
ओलीले देश अत्यन्तै अफ्ठेरो अवस्थामा पुगेको बताउँदै खाली आयात मात्रै गरिरहेको र निर्यात केही नभईरहेको अवस्थामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘अब ढिलो नगरौं, एमालेले देशको आर्थिक समृद्धिका लागि जुटिरहेको छ । यसमा नेपाली जनताको साथ चाहिएको छ ।’
मध्यपहाडी संकलप अभियान पार्टीका लागि नयाँ रणनीति र मार्गदर्शन गर्नका लागि थालिएको उनले बताए । ‘देशका कुन ठाउँमा कस्ता समस्या छन्, नागरिकको अवस्था कस्तो छ भनेर बुझ्नका लागि यो अभियान चलाएका हौं, अहिलेको स्थिति फेर्न एमालेले के गर्नुपर्दछ भनेर मध्यपहाडी भेगका नागरिकको सुझाव संकलन गर्दै आएको हौं । ७ औं दिनमा गुल्मीको वामी आएका छौं अहिलेसम्म पाएको अपार माया, उत्साह र साथले एमालेलाई थप ऊर्जा थपेको ।’ ओलीले भने –‘भूकम्प प्रभावित जिल्लामा एमालेले गरेको स्वयंसेवक कामको समेत निरीक्षण गरेका छौं । सरकारलाई हाम्रो सुझाव छ भूकम्प प्रभावितलाई यथाशक्य छिटो व्यवस्थापन गरौं, हामीले गर्ने कामको नतिजा हेर्न ती जिल्लामा जाऔं ।’ ओलीले संकल्प यात्रामा धेरै जिल्लामा धेरै सुझाव आएको, स्थानीय सरकारको तर्फबाट धेरै सुझाव र आग्रह आएको र आफूहरुले पनि सुझाव दिएको र त्यही अनुसार काम गर्न आग्रह गरिएको बताए । मंगलबार राती लुम्बिनीको रुकुमपूर्व आएको टोली बुधबार रुकुमकोट तथा गुल्मीको कार्यक्रम सकाएर आजै बाग्लुङको गल्कोटतर्फ लागेको एमाले गुल्मीका इन्चार्ज तथा पोलिब्यूरो सदस्य सूर्य थापाले बताए । ओली पहिलो पटक गुल्मीको वामीटक्सार पुगेका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend