• Saturday 25th July 2026

महामारीकै बेला चम्कियाे विद्युतीय कारोबार

महामारीकै बेला चम्कियाे विद्युतीय कारोबार


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाको विद्युतीय कारोबार विस्तार भएको छ ।  कोरोना सङ्क्रमणको समयमा बैङ्क तथा वित्तीय संस्थामै पुगेर कारोबार गर्न अप्ठ्यारो परेका कारण सेवाग्राही विद्युतीय कारोबारतर्फ आकर्षित र अभ्यस्त भएको पाइएको हो ।

यसकै कारण एक वर्षको अवधिमा विद्युतीय कारोबार झन्डै चार गुणाले बढेको छ । कोरोना महामारीकै बेला चम्किएका क्यूआर, वालेट, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, ई–कमर्स, पीओएसलगायतका माध्यमले यतिबेला कारोबार बढाएका छन् ।

पछिल्लो समय चिया पसलदेखि तरकारी पसलसम्म लोकप्रिय बनेको क्यूआर कोडमार्फत हुने कारोबार एक वर्षमा झन्डै चार गुणाले उकालो लागेको छ । अघिल्लो आर्थिक वर्षको फागुनमा दुई अर्ब पाँच करोड ५० लाख रुपियाँको कारोबार क्यूआर कोडबाट भएकामा चालू आर्थिक वर्षको सोही अवधिमा सात अर्ब ७६ करोड २० लाख रुपियाँको कारोबार भएको छ । एक वर्षमै क्यूआर कोडको कारोबार पाँच अर्ब ७० करोड ७० लाख रुपियाँले बढेको छ । एक वर्षअघि छ लाख ३५ हजार ७३८ कारोबार सङ्ख्या रहेको क्यूआर कोडको कारोबार अहिलेसम्ममा झन्डै चार गुणाले बढेर २३ लाख सात हजार ९०४ पुगेको छ ।

एक वर्षमै मोबाइल बैङ्किङमार्फत हुने कारोबार झन्डै तीन गुणाले बढेको छ । अघिल्लो वर्षको फागुनमा ४० अर्ब ३५ करोड ९० लाख रुपियाँ रहेको मोबाइल बैङ्किङमार्फत हुने कारोबार यो वर्ष फागुनसम्म आइपुग्दा झन्डै तीन गुणाले बढेर एक खर्ब सात अर्ब ११ करोड ९० लाख रुपियाँ भएको छ । मोबाइल बैङ्किङको कारोबार सङ्ख्या यो एक वर्षको अवधिमा एक करोड ५५ लाख ५९ हजार ९७० पुगेको छ ।

दुई लाख रुपियाँभन्दा बढीको भुक्तानी दिँदा चेक काट्नु नपर्ने तथा अन्तरबैङ्क कारोबारमा पनि तत्कालै भुक्तानी हुने रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)मार्फत हुने कारोबारमा पनि एक वर्षमा झन्डै तीन गुणाले वृद्धि आएको छ । आरटीजीएस लागू भएसँगै चेक काट्नुपर्ने युगको अन्त्य भएका कारण पनि यसको लोकप्रियता चुलिएको हो । गत वर्षको फागुनमा आरटीजीएसबाट १७ खर्ब एक अर्ब ३० करोड रुपियाँ बराबरको कारोबार भएकामा यो वर्षको फागुनमा ३६ खर्ब ९२ अर्ब ९८ करोड ३० लाख रुपियाँ बराबरको कारोबार भएको हो । आरटीजीएस कारोबार सङ्ख्याका आधारमा हेर्दा एक वर्षअघि ४८ हजार ७६५ रहेकामा झन्डै दुई गुणाभन्दा बढीले उकालो लागेर ६० हजार ५७३ पुगेको छ ।

कनेक्ट आईपीएसमार्फत हुने भुक्तानीले पनि छलाङ मारेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार एक वर्षकै अवधिमा यसमार्फत हुने भुक्तानीमा पनि झन्डै तीन गुणाले बढेको हो । अघिल्लो वर्षको फागुनमा एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपियाँ भएको यस्तो कारोबार एक वर्षमा उकालो चढेर दुई खर्ब ७३ अर्ब ८५ करोड ८० लाख रुपियाँ बराबरको कारोबार भएको छ । यही अवधिमा कनेक्ट आईपीएसको कारोबार सङ्ख्या १६ लाख तीन हजार ५९८ बाट दोब्बरभन्दा बढी अर्थात् ३३ लाख ३९ हजार ५५४ पुगेको छ ।

वालेटमार्फत हुने कारोबार पनि एक वर्षअघि १० अर्ब १८ करोड रुपियाँ रहेकामा अहिले १६ अर्ब ५९ करोड ९० लाख रुपियाँ पुगेको छ । कारोबार सङ्ख्याको हिसाबले हेर्दा पनि गत वर्षको फागुनमा एक करोड छ लाख १४ हजार २६८ रहेकामा एक वर्षपछि एक करोड ४० लाख ३३ हजार ४९० पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार डेबिट र क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि बढोत्तरी देखिएको छ । गत आर्थिक वर्षको फागुनमा ६३ अर्ब ७९ करोड ७० लाख रुपियाँ बराबर कारोबार भएकामा यो आर्थिक वर्षको फागुनमा ७२ अर्ब ५९ करोड ९० लाख रुपियाँ बराबरको कारोबार भएको हो । कारोबारमा सङ्ख्यात्मक रूपले हेर्दा पनि ८२ लाख १५ हजार १७० रहेकामा एक वर्षपछि ९३ लाख १९ हजार ८८४ पुगेको छ । यस्तै क्रेडिट कार्डमार्फत हुने कारोबारमा पनि गत वर्ष एक अर्ब तीन करोड ९० लाख रुपियाँ बराबरको कारोबार भएकामा यो वर्ष एक अर्ब १४ करोड ८० लाख रुपियाँ बराबर कारोबार भएको हो । कारोबार सङ्ख्याका आधारमा हेर्दा पनि गत वर्ष एक लाख ८९ हजार १६६ रहेकामा यो वर्ष एक लाख ९५ हजार ८७८ रहेको छ ।

नगदको सट्टा कारोबार गर्न सकिने डिजिटल माध्यमका थुप्रै सेवाले नेपाल–प्रवेश गरेसँगै यसप्रति बैङ्कका ग्राहकहरूको चासो बढ्दै गएको छ । पछिल्लो समय कतिपय अवस्थामा बैङ्कको सेवाका कारण थपिएका डिजिटल प्लेटफर्ममा आकर्षण बढ्न थालेको छ भने कतिपय अवस्थामा ग्राहकको मागका आधारमा बैङ्कले डिजिटल सेवा दिन थालिको छ ।

परम्परागत बैङ्किङ प्रणालीबाट डिजिटलमा जाँदा समयको बचत, अनावश्यक झन्झटमा कमी तथा सेवासुविधा छिटोछरितो रूपमा दिनु र सुरक्षामा अब्बल बनाउने भएकाले पनि यसतर्फको आकर्षण बढ्दो क्रममा देखिएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend