• Saturday 25th July 2026

नेपाली सेनाले पुनःनिर्माण गरेकाे जितगढी किल्ला बुटवललाई हस्तान्तरण

नेपाली सेनाले पुनःनिर्माण गरेकाे जितगढी किल्ला बुटवललाई हस्तान्तरण

देश जाेगाएकाे निशानीकाे संरक्षण गर्न जरूरी : राष्ट्रपति


  • लुम्बिनी रिभ्यू

बुटवल ।
राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी किल्ला ठूला साम्राज्यसँंग नेपाली सौर्य र कुटनीतिक चातुर्यताले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताएका छन् ।
नेपाली सेनाले पुनःनिर्माण गरेकाे ऐतिहासिक जितगढी किल्ला उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा आज राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकस क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्नसके यसले देशको पर्यटनको विकासमा समेत योगदान दिने बताए । उनले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए ।
उनले भने–‘यसका लागि अब बुटवल उपमहानगरपालिकाको विशेष भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास गरेको छु । नेपाली सेनाले तीनै तहका सरकारसँंग मिलेर जितगढी पुर्ननिर्माणसम्बन्धी गुरुयोजनाअनुसार पानीको फोहोरा, युद्ध झल्कने चित्र र एम्फी थिएटरलगायतका कामहरू भरहेको जानकारी पाउँंदा थप खुसी लागेको छ ।’
उनले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल भएको उल्लेख गर्दै किल्लाको समयानुकुल प्रचार प्रसार र प्रवर्द्धन गर्दै पर्यटकीय स्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा काम अगाडि बढाएकोमा आफूलाई खुशी लागेको पनि जनाए ।
उनले जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने नेपाली सेना र बुटवल उपमहानगरपालिकाको सराहनीय काम भएको बताए । राष्ट्रपति पौडेलले भने–‘आगामी दिनमा यस किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा थप चासो बढाउन आग्रह गर्दछु ।’
सो अवसरमा राष्ट्रपति पौडेलले सार्वभौम र स्वभिमानी नेपाली भनी गर्व गर्न सक्ने आजको दिन वीर नेपाली सेनाले इतिहासमा देखाएको वीरता र सौर्यकै परिणाम भएको भन्दै नेपाली सेनाको इतिहासको प्रशंसा गरे । उनले नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको पनि स्पष्ट पारे ।
नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्रनिर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोगलगायत कार्य समेत नेपाली सेनाले गर्दै आएको चर्चा गर्दै राष्ट्रपति पौडेलले भने–‘जहाँ नेपाली सेना पुगेर काम थालेको छ, त्यहाँका जनता ढुक्क हुने परिस्थिति निर्माण हुनु भनेको त्यो सैनिक–नागरिक सम्वन्ध विकासको राम्रो उदाहरण हो । गैरराजनीतिक चरित्रको मुलुकको प्रमुख सुरक्षा संगठन नेपाली सेनाले संविधानसम्मत हुने जुनसुकै सरकारका आदेशलाई सधैँ शिरोधार्य गरेको छ । नेपाली सेनाको यो उत्कृष्ट विशेषताले उक्त संगठनलाई नेपाली जनतामाझ लोकप्रिय बनाएको छ ।’
राष्ट्रपति पौडेलले तिनाउ नदीको तटमा अवस्थित चुरे पहाडको काखमा पहाड र तराईको सङ्गमस्थल तथा प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्ने र बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटी बनाउने यहाँका जनप्रतिनिधिहरूको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे। किल्लाको पुननिर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको थप संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले पर्याप्त चासो दिने छ भन्ने आफूले अपेक्षा राखेको राष्ट्रपति पौडेलको धारणा थियो ।
यसअघि रुपन्देहीको नयाँपुलस्थित मुक्तिनाथ धामको अवलोकन तथा पूजा अर्चना गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend