एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले चुनावताका कालिकापथमा रहेका चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल राख्ने वाचा गरेका थिए ।
बुटवल । नेपालमै पहिलोपटक विद्युतकाे मुख्य प्रशारण लाइनमा चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल (सिंगलपोल) राख्ने काम बुटवलमा निर्माण सम्पन्न हुनै लागेको कालिकापथबाट सुरु गरिएको छ । मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युतको प्रसारण लाइनको सट्टा मोनोपोल राख्ने काम सुरु भएको हो ।

अहिलेको प्रसारण लाइनको पोलले सडकको धेरै भाग ओगटेकोले देख्दा भद्दा र बेलाबेला दुर्घटनाको समेत जोखिम बढेकोले मोनोपोल राख्न लागिएको हो । यो पोल राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिमसमेत कम हुने बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । निर्माण कम्पनीले मोनोपोल बनाउन सुरु गरेसँगै माटो परीक्षणको काम शनिबारदेखि सुरु भएको छ ।
नेपाल विद्युत प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इन्जिनियरका अनुसार सूर्यप्रसाद पाण्डेका अनुसार हाल रहेका चारवटा विद्युतीय पोल हटाउने काम सुरु भएको छ । “अहिले रहेका पोलले सडकको धेरै क्षेत्रफल ओगटेको छ, जसका कारण सडक समेत साँघुरो भएको छ, कालिकापथ बिस्तार भएसँगै उक्त विद्युतीय पोलका ठाउँमा मोनोपोल निर्माण गरिने छ” उनले भने ।
प्राधिकरणका बुटवल ग्रिड महाशाखा प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक समेत आकर्षक देखिने बताए । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्ने गरी काम सुरु गरेको उनले जानकारी दिए ।

एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले चुनावताका नै कालिकापथमा रहेका अहिलेका चारखुट्टे विद्युतीय पोल हटाएर मोनोपोल राख्ने वाचा गरेको र त्यो वाचाअनुसार काम थालेको उनका निजी सचिव यम पाण्डेले जानकारी दिए । बुटवलको योगीकुटीबाट मगरघाटसम्म विद्युतीय तार भूमिगत गरिने र कालिकापथमा सडकको धेरै क्षेत्राधिकार ओगटेर निर्माण गरिएका विद्युतीय पोल हटाएर त्यसका ठाउँमा मोनोपल राख्ने एमाले नेता पौडेलले चुनावी प्रतिवद्धतामा राखेका थिए । पौडेलको प्रतिवद्धता अनुसार अब भने विद्युतीय मोनोपोल राख्ने कामले मूर्त रुप लिन लागेको पाण्डेले बताए । पहिलो चरणमा यो सडक खण्डको बीचमा रहेका चार वटा पोल हटाएर काम थालिने छ ।
प्राधिकरणका इन्जिनियर सूर्यप्रसाद पाण्डेका अनुसार मुख्य प्रशारण लाइनमा यो अभ्यास पहिलोपटक गर्न लागिएको हो । काठमाण्डौमा मोनोपोल राखिएपनि मुख्य प्रशारण नभई सहायक प्रशारण लाइनमा रहेको छ । अहिलेको पोलभन्दा उचाईमा पनि बढी हुने र सडक क्षेत्रमा पनि कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उनको भनाइ छ ।

लुम्बिनी रिभ्यू