• Saturday 25th July 2026

गुल्मीकी मनिषा : एकैवर्षमा ५ वटा फरक पदमा लोकसेवा पास, केपी ओलीकाे बधाई

गुल्मीकी मनिषा : एकैवर्षमा ५ वटा फरक पदमा लोकसेवा पास, केपी ओलीकाे बधाई


  • लुम्बिनी रिभ्यू

बुटवल ।
गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेको विषयलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिँदै मेहनत गर्नेलाई नेपालमा केही छ भन्ने सन्देश भएको बताएका छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेको समाचार प्रकाशन भएको थियो । अध्यक्ष ओली लेखेका छन्–‘गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनिषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ।’
मनिषाले उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।
उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यमिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend