• Saturday 25th July 2026

लुम्बिनीमा चिनियाँ राजदूत सोङ्ग : गुरुयोजनाबारे चासो

लुम्बिनीमा चिनियाँ राजदूत सोङ्ग : गुरुयोजनाबारे चासो


  • लुम्बिनी रिभ्यू

लुम्बिनी ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग बीच वृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको छ । विहीबार लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा जापानिज वास्तुविद् केञ्जो टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्र्धनमा सहकार्यका विषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए ।
राजदूत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा. लामाले बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि आग्रह गरे। भेटमा लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य, श्याम रोक्काले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
यसैबीच चिनियाँ नयाँ वर्षको अवसर पारी विहीबार नै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले हजारौं चिनियाँ तिर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए । राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिँदै लामाले भने ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौं चिनियाँहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउँ, त्यो दिनको पखाईमा छौं।’ उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यहि दिन खिर बाँड्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा राजदूत सोङ्गले १५ सय वर्षअघि चिनियाँ यात्रीहरु गरेको पैदल यात्रा र त्यही यात्रा वित्तान्तले लुम्बिनी पत्ता लगाउने सहयोग गरेको स्मरण गर्दै बुद्धजन्मस्थल जस्तो पवित्र स्थलमा आएर प्रसाद वितरण गर्न पाउदा निकै खुशी लागेको बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौं वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले विश्वमा अशान्ति भइरहेकाले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए ।
कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाताकाे खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले राजदूत सोङ्ग, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितिमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागितामा प्रसाद बाँड्न पाउनु आफ्नो लागि अविस्मरणीय बनेको बताए । उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend