• Saturday 25th July 2026

कुन दलका घाेषणापत्रमा कस्ता याेजनालाई महत्व ?

कुन दलका घाेषणापत्रमा कस्ता याेजनालाई महत्व ?

सबै गाउँ र नगरपालिकाको केन्द्रमा पक्की सडक निर्माण गर्ने तथा वडा कार्यालयदेखि पालिकासम्म आवतजावत गर्न सहज रूपमा सडक पुर्याउने उल्लेख


  • लुम्बिनी रिभ्यू

काठमाडौँ, वैशाख १८ गते । स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा वडा कार्यालयदेखि पालिकाको केन्द्रसम्म सडकको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सबै गाउँ र नगरपालिकाको केन्द्रमा पक्की सडक निर्माण गर्ने तथा वडा कार्यालयदेखि पालिकासम्म आवतजावत गर्न सहज रूपमा सडक पु¥याउने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यस्तै करको दर कम गरी दायरा वृद्धि गर्ने र कम्तीमा पालिकाको एउटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने तथा पालिकास्तरमै सीप प्रवद्र्धन गरी आयआर्जन गर्ने प्रमुख दलका घोषणापत्रमा उल्लेख गरिएको छ ।

नेकपा (एमाले)

नेकपा एमालेले प्रत्येक पालिकाको केन्द्रलाई पक्की सडक सञ्जालले जोड्ने नीति सार्वजनिक गरेको छ । एकीकृत वस्ती विकास गरी व्यवस्थित सहरी योजना निर्माण गर्ने र प्रत्येक पालिकामा एउटा औद्योगिक ग्राम निर्माण गर्ने एमालेको घोषणापत्रमा उल्लेख गरिएको छ ।

पालिकाभित्रका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाई प्रत्येक पालिकामा एउटा प्राविधिक विद्यालय सञ्चालन गर्ने नीति एमालेले बनाएको छ । आगामी दुई वर्षमा सबै पालिकाका नागरिकको घरमा खानेपानीको धारा पु¥याउने, विपन्न परिवारलाई घरायसी प्रयोजनका लागि विद्युत् निःशुल्क उपलब्ध गराउने, घरेलु प्रयोजनमा विद्युतीय ऊर्जा तथा नवीकरणीय ऊर्जाको प्रयोग गर्ने र स्थानीय तहमा कृषि पकेट क्षेत्र, ब्लक जोन र सुपरब्लक जोनलाई व्यवस्थित गर्ने नीति एमालेले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसले सार्वजनिक गरेको सङ्कल्प प्रस्तावमा प्रत्येक गाउँ र नगरपालिकाको केन्द्रमा पक्की सडक सञ्जाल पु¥याउने, पालिकाको केन्द्रदेखि वडासम्म सडकको पहुँच विस्तार गर्ने उल्लेख गरिएको छ । स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर बनाउँदै पालिकाभित्र सञ्चालन गरिने आयोजनालाई प्राथमिकीकरणका आधारमा छनोट गर्न स्थानीय तहमा सार्वजनिक सुनुवाइ गर्ने नीति काँग्रेसको छ ।

त्यस्तै स्थानीय तहबाट प्रदान गरिने प्रत्येक सेवालाई अनलाइनको माध्यमबाट सञ्चालन गर्ने, आवधिक रूपमा सार्वजनिक बिदाको दिन नागरिक एकीकृत सेवा सञ्चालन गर्ने, करको दायरा बढाउने र दर घटाउने, राजस्व परिचालन तथा सार्वजनिक निजी साझेदारीमा लगानी आकर्षित गर्न आवश्यक नीति र कानुन छ महिनाभित्र निर्माण गर्ने भएको छ ।

स्वीकृत भएका आयोजनालाई अन्तिम स्वीकृत प्रदान गर्नुपूर्व त्यस्ता योजनाबारे बृहत् रूपमा नागरिकसँग परामर्श गर्ने काँग्रेसको सङ्कल्पपत्रमा भनिएको छ ।

नेकपा (माओवादी केन्द्र)

नेकपा माओवादी केन्द्रले अपिल जारी सो अपिलका आधारमा पालिकाले आआफ्नो घोषणापत्र बनाउन निर्देशन गरेको छ । टोल–टोलमा सहकारी घर–घरमा रोजगारी, एक पालिका एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचानलाई अपिलमा उल्लेख गरिएको छ ।

समाजवाद उन्मुख समृद्धिको कार्यक्रम लागू गर्ने अपिलमा प्रतिबद्धता व्यक्त गरिएको छ । समूह, सहकारी, परिवर्तनमार्फत आमजनतालाई आर्थिक विकासको साझेदार बनाउने समानतामूलक समाज निर्माण गर्ने उल्लेख गरिएको छ । स्थानीय तहको प्रभावकारिता बढाउँदै समाजवादोन्मुख समृद्धिको दिशा अघि बढ्ने अपिलमा भनिएको छ । केन्द्रले अर्थतन्त्रको प्रमुख आधार कृषिमा आमूल सुधार, माओवादीले निःशुल्क र गुणस्तरीय शिक्षा, उद्यमशीलताको विकास तथा रोजगारी, आधारभूत स्वास्थ्य सेवा समृद्धिका लागि वन कार्यक्रमलाई जोड दिएको छ ।

जनता समाजवादी पार्टी नेपाल

जसपाले पालिकाको स्थानीय विशिष्टता अनुरूप सेरोफेरोमा चक्रपथ निर्माण गर्दै पालिकाको केन्द्रदेखि वडाको केन्द्र जोड्ने सडकसँग गाउँ बस्ती टोलको लिङ्क गराउने घोषणापत्रमा उल्लेख गरिएको छ । आगामी ५० वर्षसम्मको जनघनत्वको पूर्वानुमान गरी आधुनिक सहरी केन्द्र, आर्थिक कोरिडोर र औद्योगिक क्षेत्र विकास गर्ने, सार्वजनिक खानेपानीको आयोजनाबाट वितरीत खानेपानीको बिलमा दुई सय रुपियाँसम्म निःशुल्क गर्ने, आधुनिक शौचालय निर्माणको पहुँच नपुगेका घरमा शौचालय निर्माणका लागि १० हजार रुपियाँ अनुदान दिने घोषणापत्रमा भनिएको छ । करको दर कम गरी दायरा वृद्धि गर्ने, एक पालिका एक मोडल स्कुलको अवधारणा कार्यान्वयन गर्ने, पालिकाको सेवालाई प्रभावकारी बनाउन वडा तहका सबै कर्मचारीलाई कम्युटर शिक्षा प्रदान गरी प्रविधिमैत्री सेवा प्रवाह गर्ने नीति जसपाले घोषणापत्रमार्फत अगाडि सारेको छ ।

नेकपा एकीकृत समाजवादी

समाजवादीले पालिकाको केन्द्रदेखि वडा कार्यालयसम्म सहज रूपमा सडक पूर्वाधार निर्माण गर्ने नीति एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

एक पालिका एक प्राविधिक शिक्षालय निर्माण गर्ने, कृषि, स्वास्थ्य र प्राविधिक विषय उच्च शिक्षा हासिल गर्नका लागि पालिकाद्वारा छात्रवृत्तिको व्यवस्था गर्ने, आफ्नो भूगोलभित्रका पालिकाको विषयमा पालिकाका नागरिकले विद्यावारिधि गर्न चाहेमा सम्बन्धित शोधार्थीलाई एक मुष्ठ दुई लाख रुपियाँ अनुदान दिने समाजवादीको घोषणापत्रमा उल्लेख गरिएको छ ।

पालिकाले वार्षिक नीति, कार्यक्रम र बजेट निर्माण गर्दा स्वास्थ्य उपचारलाई प्राथमिकता दिएर जटिल प्रकृतिका शल्यक्रियाबाहेकका उपचार स्थानीय पालिकाको अस्पतालबाटै प्रदान गर्ने, माध्यमिक तह शिक्षा पूरा गरेका विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम कार्यान्वयन गरी पढाइ खर्चका लागि कमाउँदै कार्यक्रमलाई प्राथमिकता दिने पार्टीको घोषणापत्रमा उल्लेख गरिएको छ । (गोरखापत्र अनलाईनमा प्रकाशित सामग्रिकाे सहयोगमा )

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend