• Saturday 25th July 2026

मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार भईरहेकाे चिन्ता

मिथ्या सूचनाबाट राजनीतिक उपलब्धिमाथि प्रहार भईरहेकाे चिन्ता


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। पछिल्लो समयमा मिथ्या सूचनाबाट प्राप्त राजनीतिक उपलब्धिमाथि लगातार प्रहार हुन थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालमा सूचनाको चलखेल र लोकतन्त्र’ विषयक कार्यक्रममा सरोकारवालाले पछिल्ला समय गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्न खोजिएको बताएकाे छ ।

कार्यक्रममा ‘सूचना चलखेल नियन्त्रणमा राजनीतिक दलहरूको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले गलत सूचनाका माध्यमबाट लोकतन्त्र र लोकतान्त्रिक नेतृत्वविरुद्ध निरन्तर प्रहार हुन थालेको बताउनुभयो । सूचनामा चलखेल नियन्त्रण गर्न राजनीतिक दलको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले दलका कार्यकर्ता तथा शुभेच्छुकको ‘डिजिटल’ ज्ञान बढाउने तथा सामाजिक सञ्जाल सञ्चालनको आचारसंहिता जारी गरी सोहीअनुसार प्रयोग गर्न कार्यकर्ता र समर्थकलाई आग्रह गर्नुपर्ने बताउनुभयो ।

लोकतन्त्रले परिणाम दिन सक्दैन भन्ने भाष्य स्थापित गरेर दलहरूलगायत लोकतन्त्रका प्रमुख आधारस्तम्भ कमजोर भएका अवस्था र आमनागरिकमा व्याप्त निराशाको मौकामा केही तत्त्वले यिनै पक्षलाई उचालेर लोकतन्त्रमाथि प्रहार गर्न सक्नेतर्फ पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले सचेत गराउनुभयो ।

“देशमा नैराश्य किन बढ्यो र देशको राजनीतिक संवेदनशीलता कहाँ र के कस्ता छन्, त्यसको नियमित लेखाजोखा गरेर त्यसलाई सम्बोधन गर्ने साझा रणनीति बनाउनुपर्छ”, दलहरूको ध्यानाकर्षण गराउँदै उहाँले भन्नुभयो, “सबैले तत्कालीन स्वार्थभन्दा माथि उठेर आ-आफ्ना तहबाट के गर्न सकिन्छ गरौँ, विद्यमान निराशाको बादल तोडेर सकारात्मक बाटो देखाउँदै आशा जगाउन सकौँ ।” नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालमा आएका मिथ्या सूचनामा भर पर्न नहुनेमा जोड दिँदै मिथ्या सूचनाको संवेदनशीलताका बारेमा विद्यालय तहबाटै सचेत बनाउनुपर्ने बताउनुभयो ।

“विद्यालय, समुदाय र परिवार नै बढ्ता जिम्मेवार हुनुपर्छ, कस्ता सूचना ग्रहण गर्ने, कस्ता सूचना बहिष्कार गर्ने भनी जानकार र जागरूक हुनुपर्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालले लोकतन्त्रको विकासमा सहयोग गर्नुपर्छ भन्दै यसमा सरोकारवालाबिच घनिष्ठ सहकार्यको आवश्यकता औँल्याउनुभयो । “गलत सूचनाले विभिन्न समस्या सृजना गरेका छन्, सामाजिक सञ्जालले ल्याएका चुनौती सामना गर्न सबै तयार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले गलत सूचनाको चलखेल रोक्न राजनीतिक दल, सञ्चारमाध्यम र सामाजिक अभियन्ताको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । “मिथ्या सूचनाविरुद्ध सिङ्गो समाज एक ठाउँमा उभिनुपर्छ, यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने लोकतन्त्र हाम्रो हातबाट बाहिर जान सक्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भ्रमपूर्ण सूचनाले सिङ्गो समाजलाई नै प्रभावित तुल्याएको उल्लेख गर्दै यसविरुद्ध एक भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend