बुटवल । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीले युवापंक्तिको भोटले स्थानीय तहमा कसैको जीतहार मात्र होइन देशको भविष्य निर्धारण गर्ने बताएका छन् ।
उनले असल राजनीतिक संस्कार बसाल्नेदेखि स्थानीय विकासको जग हाल्नेसम्मको जिम्मेवारी स्थानीय सरकारको रहेकाले नेतृत्व चयन गर्ने बेलामा सोचविचार गरेर मतदान गर्न युवाहरुलाई आग्रह गरे । ‘यसपालि युवाको मत बढी छ । कुनै आग्रह पुर्वाग्रह नराखौं । दुरगामी भविष्य देखाउने मान्छे र पाटी रोजेर भोट गरौं,’ उनले भने, ‘फराकिलो बाटो र ठूला सपना देखे मात्रै गन्तव्यको यात्रा गर्न सकिन्छ ।’
स्थानीय निर्वाचन नजिकिएका बेला बुटवल आएका अर्थशास्त्री रेग्मीले युवालाई देशमा केही भएन भनेर तर्क गर्नु साटो भएकाको संरक्षण गरेर थप विकासमा जुट्न आग्रह गरे । ‘स–साना कामका लागि पनि सिंहदरबारकै मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । संघीयताको मुख्य विशेषता भनेकै अधिकारको विकेन्द्रीकरण र त्यस मार्फत विकास हो,’ उनले भने, ‘युवाहरुले पनि यसमा भविष्य खोजौं।’

अर्थशास्त्री रेग्मीले देशको अर्थतन्त्र भताभुंग अवस्थामा पुगेको बेला त्यसलाई सम्हाल्न स्थीर राजनीति र बलियो दल आवश्यक परेको बताए । त्यसका लागि दलहरुका घोषणा पत्र र प्रतिवद्धता पत्र पढेर आफ्नो लक्ष्य र देशको भविष्य देखिने पाटीमा भोट दिन उनले आग्रह गरे । राजनीतिप्रति वितृष्णा रहेका युवाहरुलाई उनले राजनीतिक दल, तिनका एजेण्डा र कार्यदिशाबारे जान्न आवश्यक रहेको बताए । ‘ सबै नीतिको मुल नीति राजनीति हो । राजनीति स्थीर भयोभने मात्रै देशको अर्थतन्त्र बलियो बनाउन संवृद्धि ल्याउन र युवाको भविष्य सुरक्षीत बनाउन सकिन्छ ।’
मुलुकको आर्थिक अवस्था, दलहरूका आर्थिक नीति, घोषणापत्रमा उल्लेख गरिएका आर्थिक नीति तथा कार्यक्रम र मुलुकको समृद्धिका अबको बाटो कस्तो हुनुपर्छ भन्ने विषयमा प्रेस चौतारीले शनिबार बुटवलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अर्थशास्त्री रेग्मीले अब देशले कृषिमा मात्रै भविष्य देख्न नहुने बताउदै कृषि कर्ममा भुलेको जनशक्तिलाई सेवा, उत्पादन र रोजगारमा जोड्न आग्रह गरे । उनले रोजगारीमा जोडिनसक्ने जनशक्ति उत्पादन गर्न र उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्न दलहरुले योजना बनाउनुपर्ने बताए ।
रेग्मीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा विकास अर्थशास्त्रमा स्नातकोत्तर गरी २० भन्दा बढी मुलुकको अध्ययन र अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी भएर अनुभव हासिल गरेका छन् । उनले युरोपियन मोडलमा भएको रुपन्देहीको विकास देशकै नमुना रहेको बताए । उनले रुपन्देहीको मोडलमा अन्य जिल्लाहरूको विकास हुन सके मुलुकमा विकासको लहर आउन धेरै समय नलाग्ने बताए । ‘ बुटवल–भैरहवा ६ लेन सडक , गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल, सिद्धबाबा सुरुङ मार्गलगायतका आयोजनाहरु देशकै नमूना हुन् । युरोपकै मोडलमा भएको विकास अरु जिल्लामा पुर्याउन पहल गरौं’ उनले भने । उनले आफूले नेपाली माटो सुहाउदो मुलुकको समृद्धिलाई नजिकबाट नियालेको भन्दै दुई छिमेकी शक्ति राष्ट्रहरूको बजारलाई नेपालले प्रयोग गरेर उपलब्धि हासिल गर्नुपर्ने बताए ।

लुम्बिनी रिभ्यू