• Saturday 25th July 2026

मातृशिशु सुरक्षाका लागि गर्भवती– सुत्केरी भेट

मातृशिशु सुरक्षाका लागि गर्भवती– सुत्केरी भेट


  • लुम्बिनी रिभ्यू

विपन्न वर्गका सुत्केरीलाई सघाउदै बुटवल उपमहानगर
अमृता अनमोल
बुटवल–बुटवल उपमहानगर ११ दुर्गानगरकी सखिना मिया अघिल्लो चैत २८ मा सुत्केरी भइन् । पेटमा पानी जमेको भन्दै एक महिना छिटो शल्यक्रिया गर्दा उनका आफन्त कोही साथमा थिएन । घरवेटी र छिमेकीले लुम्बिनी प्रादेशिक अस्पतालसम्म पुर्याए । सुत्केरी बनेपछि डेरासम्म पनि उनैले ल्याए । नातामा बहिनी पर्नेले सुसार गरिन् । तर, कोरोना सन्त्रास र लकडाउनका कारण काठमाडौंमा चुरी बनाउने काम गर्ने पति आयुद आउन सकेनन् । भरखर काम सुरु गरेकाले पैसा पठाउन पनि सकेनन् । सुत्केरी सखिना केही दिन छिमेकी र घरभेटीले दया गरेर दिएको खाएर बसिन् ।
भोकले सुत्केरीको ज्यानै जाने अवस्था भएपछि बुटवल उपमहानगरले २ पटकसम्म १०/ १० किलो चामल, २/२ किलो दाल र एक/एक लिटर तेल, सोयावीन दियो । केही दिनमा कोरोना सुत्केरी राहत कार्यक्रम सुरु भयोे । त्यसमार्फत ५ किलो चामल र आधा किलो घिउ, ज्वानो, दशमुलारिष्ट लगायत पाइन् । त्यो पनि एक सातामै सकियो । उनलाई बचाउन के गर्ने ? उपमहानगरको पहलमा परपल फाउण्डेसन नामक संस्थामार्फत २५ किलो चामलसहित दाल, तेल, घिउ, अण्डा लगायत सहयोग गर्यो । ‘धन्न उपमहानगरले राहत दियो,’ उनले सुनाइन्, ‘न घरमा पैसा थियो । नत उधारो माग्ने ठाउ“ थियो । काम गरेर खाने अबस्था पनि थिएन । राहत नपाएको भए नवजात शिशुसहित भोकले मर्नुको विकल्प थिएन ।’
सुत्केरी समय आमा र शिशुको स्वास्थ्यका लागि धेरै पोषणयुक्त खानेकुरा खानुपर्ने समय हो । तर, कोरोना सन्त्रास र लकडाउनका कारण विपन्न वर्गका धेरै महिला पोषणयुक्त खानेकुरा खान होइन भोको पेट कसरी भर्ने समस्यामा परे । कोही भोकभोकै रहनु पर्‍यो । कोही सिमित व्यक्ति राहत र मागेर गुजारा चलाए । तिनाउ नदी किनारमा बसेका दैनिक मजदुरी गर्ने व्यक्ति, सुकुम्वासी, अल्पसंख्यक लगायतमा यस्तो समस्या धेरै देखियो । जसले गर्दा सुत्केरी महिला र शिशुको स्वास्थ्य जोखीममा पर्‍यो ।
दुर्गानगरकै सुमिता सुवाल चैत २७ मा सुनिता सुवाल सुत्केरी हु“दा घरमा अन्नको गेडा थिएन । उनले पोषिलो खानेकुरा त होइन पेटभरि दालभात खान पनि पाइनन् । निर्माण मजदुरीको काम गरेर ५ जनाको परिवार पालेकी सुमिता आलो सुत्केरीमै भोकै परिन् ।
बैशाख पहिलो साता छिमेकीको सहयोगमा बुटवल उपमहानगरले २ पटक राहत दियो । जसमा १५/१५ किलो चामल ३/३ किलो दाल र एक /एक लिटर तेल, सोयाविन, नुन लगायत थियो । यसले झण्डै एक महिना पुग्यो । जोखीमका सुत्केरी उद्धारका लागि भन्दै ५ किलो चामल आधा लिटर घिउ, ज्वानो, दशमुलारिष्ट लगायत पाइन् । उक्त राहतले एक साता धकेलियो । फेरि उस्तै दु:ख सुरु भए । उपमहानगरले सहयोगी सस्थामार्फत २५ किलो चामल, दाल, तेल, अण्डा एवं २/२ हजार रुपैया नगरद बाड्यो । त्यसले सुत्केरी सुमिताको परिवारलाई निकै राहत भयो । ‘घरमा केही थिएन । सुत्केरी समयमाआफूले खान नपाएपछि छोरीलाई दूध पनि नआउदो रैछ,’ सुनिताले भनिन््, ‘धन्न पटक पटक राहत पाइयो र आफूसंगै चिचिला छोरीहरुलाई खुवाएर बचाउन सकियो ।’
भौतिक पूर्वाधार र जनसंख्याका हिसावले संवृद्ध बुटवल उपमहानगरभित्र झण्डै १० हजार घरपरिवार अति विपन्न छन् । तिनाउ नदी किनारमा अव्यवस्थित बस्ती छ । उनीहरु त्यही बस्छन् । दैनिक मजदुरी गरेर गुजारा चलाउछन् । यस्ता विपन्नकालागि बुटवल उपमहानगरले कोभिड १९ सुत्केरी राहत कार्यक्रम ल्याएको थियो । जसमा ३ महिनाभित्रका सुत्केरीलाई ५ किलो चामल, आधा किलो घिउ, एक सय ग्राम ज्वानो, एक बोतल दश मुलारिष्ट दिएको थियो । गर्भवती र सुत्केरीलाई आवश्यक पर्ने आइरन, क्याल्सीयलम, पोष्टिक आहार लगायत पनि उपलब्ध गरायो । उपमहागरपालिकाको सामाजिक महाशाखाका अनुसार कोरोनाकालमा विभिन्न समयमा लकडाउन र दैनिकी अस्तव्यस्त बनेका बेला पटक पटक गरी बुटवलका ३ हजार ७ सय २५ सुत्केरी महिलाले राहत लिएका छन् । उनीहरुलाई उपमहानगर आफैले र विभिन्न संघसस्थासंग समन्वय गरेर थप राहत दिइएको हो । उपप्रमुख गुमादेवीले कोभिडका कारण कुनै पनि सुत्केरी महिलाको घरमा चुलो नबल्ने अवस्था नआओस् भनेर राहत कार्यक्रम ल्याएको बताइन् । ‘खाने खर्च नै नभएका विपन्नलाई नियमित राहत दिएकै छौं,’ उनले भनिन्, ‘सुत्केरी राहतले कम्तीमा १० दिन सुत्केरीले पोषण खाउन् भन्ने हो । सारै जटिल अवस्थाका सुत्केरीलाई वडामार्फत थप राहत पनि दिएका थियौं ।’
उपमहानगरले कोभीड संक्रमणका बेला ३ पटक विपन्न वर्गका लागि राहत वितरण गरेको थियो । जसमा १३ हजार ५ सय घरपरिवारले राहत पाए । टोल विकास समितिको सिफारिसमा वडा कार्यालयले उक्त राहत वितरण गर्यो । ‘यस्तो राहत वितरण हु“दा पनि गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखेका थियौं,’ नगरप्रमुख शिवराज सुवेदीले भने, ‘यो अवस्था सबैभन्दा बढी जोखीमको अवस्था भएकाले उनीहरुलाई जटिलता हुन नदिन यसो गरेका हौं ।’ उनले भने । कोरोना प्रभावीतको उद्धारका लागि राहतसम्बन्धी कार्यविधि बनाएर यस्तो व्यवस्था गरेको उनले बताए ।
गर्भवती– सुत्केरी भेट कार्यक्रम
विपन्न र श्रमिक क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान सुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर २०७५ फागुनदेखि अभियान सुरु भएको हो ।
अभियानको नाम ‘उप–प्रमुख गर्भवती तथा सुत्केरी भेट कार्यक्रम’ राखिएको छ । उपप्रमुख गर्भवती सुत्केरी भेट अन्तरगत २०७८ चैत मसान्तसम्म १२ हजार ४ सय २५ सुत्केरी महिलाले पोषणतत्व र औषधी निशुल्क पाएका छन् ।
कार्यक्रम उपमहानगरभर सञ्चालन भएको छ । जसमा सुत्करी महिलालाई स्वास्थ्य सचेतना जगाउने, स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य चेकजा“च गर्न समयतालिका बताउने, सुझाब दिने र सुत्केरी भएकालाई पौष्टिक आहार वितरण गर्ने गरिएको छ । पौष्टिक आहारमा घिउ, ज्वानो, दशमुलारिष्ट, आइरन क्लाल्सीयम लगायतका सामाग्री रहेका छन् ।
नगरको जनस्वास्थ्य महाशाखाले अभियानको संयोजन गरेको छ भने उपप्रमुखले अगुवाइ गरेकी छन् । त्यसमातहतका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमार्फत १९ वटै वडाहरुमा विस्तार गरिएको छ । उपप्रमुख गर्भवती सुत्केरी भेट अन्तरगत २०७९ चैत मसान्तसम्म १२ हजार ४ सय २५ सुत्केरी महिलाले पोषणतत्व र औषधी निशुल्क पाएका छन् । उनीहरु कसैलाई उपप्रमुख आफैले , कसैलाई कार्यापालिका र उपमहानगर सदस्यलाई भेटेका छन् भने कतिपयलाई स्वास्थ्य स्वयमसेविकाले भेटेर सामाग्री दिने र स्वास्थ्य अवस्था बुझ्ने गरेका छन् ।
यसकालागि सुरुमा स्वास्थ्य स्वयम् सेविकामार्फत हरेक वडामा गर्भवती र सुत्केरीको तथ्यांक संकलन गरिन्छ । त्यसका आधारमा महिला एवं शिशुले पाउने आवश्यक मातृत्व सेवालाई सुरक्षित बनाउन र समयमै सेवा दिन सहज भएको स्वास्थ्य महाशाखा उपमहानगरका स्वास्थ्य प्रमुख कुन्दन कुमार सिंहले बताए । ‘महिलाको सम्मानजनक मातृत्वका लागि घरपरिवारस“गै समुदायले समेत पहल गर्न जरुरी छ । गर्भवती र सुत्केरी समयमा हुने हेलचेक्य्राइ“ र हानिकारक उपचारबाट जोगाउन पनि अभियान फलदायी भएको छ ।’ लकडाउन र महामारीमा पनि यस्तो गर्भवती एवं सुत्केरी भेट अभियान रोकिएन । यसले महामारीका बेला गर्भवती र सुत्केरीलाई निकै सहयोग पुर्याएको स्वास्थ्य स्वयम सेविका शारदा रेग्मीले बताइन् । ‘गर्भवती र सुत्केरीले अहिले हाम्रा लागि कोही नभएपनि स्थानीय सरकार छ भन्ने अनुभूति गरेका छन् ।’ उनले भनिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend