काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधान तथा अर्थमन्त्रीको शपथ लिनुभए लगत्तै उहाँले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।
वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व गठित सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट विजयी प्रतिनिधि सभा सांसद हुनुहुन्छ । रुपन्देहीबाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको हो ।
गत निर्वाचनमा उहाँले २७ हजार एक सय ६५ मत प्राप्त गर्नुहुँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार सात सय ९५ मत प्राप्त गर्नुभएको थियो ।
पौडेलको संसदीय यात्रा २०५१ सालबाट सुरु भएको हो । उहाँ २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो ।
पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्री हुनुभएको थियो । २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी उहाँले पाउनुभयो ।
पहिलो प्रतिनिधि सभा निर्वाचन २०७९ पश्चात् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते पौडेल उपप्रधान तथा अर्थमन्त्री नियुक्त हुनुभएको थियो ।
आशा जगाउने गरी सरकार अगाडि बढ्छ

पदभार ग्रहण गर्नुहुँदै मन्त्री पौडेलले नवगठित सरकारले तय गर्ने कार्यदिशालाई आगामी आर्थिक वर्षको बजेटले समस्या नपार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बजेट कार्यान्वयनमा कुनै समस्या देखिएमा त्यसलाई प्रक्रियागत रुपमा संशोधन गर्न सकिने धारणा राख्नुभयो ।
“सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन । बाधा देखियो भने कसरी फुकाउने भनेर कानुनी र संवैधानिक व्यवस्था छन् । सोही अनुसार संशोधन प्रक्रियामा जान्छौंँ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।
संसद्का दुई ठूला दलसहितको संयुक्त सरकार बनेपछि राजनीतिक स्थिरताको सन्देश दिएको बताउँदै उहाँले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
“अहिलेको निराशा चिर्ने र आशा जगाउने गरी सरकार अगाडि बढ्छ । उत्पादन र रोजगारीमा केन्द्रित भएर अघि बढ्नेछौँ, यसका लागि सबै क्षेत्रले परिवर्तित सन्दर्भमा सहयोग गर्ने अपेक्षा गरेको छु”, पौडेलले भन्नुभयो ।

लुम्बिनी रिभ्यू