बुटवल, लुम्बिनीका नवनियुक्त तीन मन्त्रीहरुको पद तथा गोपनियताको सपथ ग्रहण भएको छ ।
बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले पद तथा गोपनियताको सपथ गराउनुभएको हो । बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनाले सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरणमन्त्री र अशोक राई नेतृत्वको जसपाबाट रूपन्देहीका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीका रुपमा सपथ खानुभएको हो । कांग्रेस एमाले बाहेक अग्रवाल अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुनुभएको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । ७ साउनमा नियुक्त भएका मुख्यमन्त्री चेतनारायण आचार्यसहित लुम्बिनीमा मन्त्रीहरुको संख्या ११ पुगेको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सत्ता साझेदार दल नेपाली कांग्रेस दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दलका नेकपा माओवादीका दल नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

लुम्बिनी रिभ्यू