रुपन्देही, बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बुधबार दोस्रो दिन जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा जारी छ । बुधबार बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको हो ।
लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराइएको थियो । मंगलबार बयानपछि कार्यालयबाट बाहिरिनेक्रममा ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रक्रिया दिएपछि प्रहरीले बुधबार उहालाई थप घेरा हालेर सरकारी वकिल कार्यालय प्रवेश गराएको हो ।बुधबार बिहान १०ः १० बजे सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको थियो । लामिछानेले सञ्चारर्की देख्नासाथ बोल्नसक्ने भएकाले बुधबार दोस्रो दिनको बयानका लागि लैजानेक्रममा प्रहरीले घेरा हालेर प्रवेश गराएको हो ।
मंगलबार कास्कीबाट रुपन्देही ल्याइएका लामिछानेसँगमंगलबारदेखि नै बयान सुरु गरिएको थियो । लामिछानेलाई जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरीका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा सवा १० बाट बयान सुरु भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अभियोगमा बयानमा लामिछानेले इन्कारी वयान दिनुभएको छ । लामिछानेले आफू सदस्यनै नरहेको सहकारीबाट आफ्नो नाममा ऋण प्रवाह भएको बताउँदै यसबारेमा कुनै जानकारी नरहेको बताएको स्रोतले बताएको छ ।
मंगलबार लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिनुभयो । प्रहरीले वयान आजै सकिने पूर्वानुमानसहित फर्काउने वन्दोवस्तीको तयारी गरेको छ । यद्यपि बुधबार वयान सकिन्छ वा सकिन्न भन्नेबारे पूर्व जानाकारी नहुने सरकारी न्यायधिवक्ता प्रेमराज पौडेलले जानाकारी दिनुभयो ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न बन्देज गरेको छ । लामिछानेलाई भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौंमा बयान लिने तयारी भएको छ ।
यसअघि पोखराबाट हिजै मध्यान्ह भैरहवा लगिएका लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय पुर्याइएको थियो । रूपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो। बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडियामा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर पोखरा पठाइएको थियो। सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध९निर्देशक रहेको गोर्खा मिडियामा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।

लुम्बिनी रिभ्यू