• Saturday 25th July 2026

चीनमा दोस्रो ग्लोबल साउथ थिङ्क ट्याङ्क समारोह : समान विकासका लागि सभ्यता आदान-प्रदान आवश्यक : बरिष्ठ उपाध्यक्ष पोखरेल

चीनमा दोस्रो ग्लोबल साउथ थिङ्क ट्याङ्क समारोह : समान विकासका लागि सभ्यता आदान-प्रदान आवश्यक : बरिष्ठ उपाध्यक्ष पोखरेल


  • लुम्बिनी रिभ्यू

 

दीपक ज्ञवाली/चीन (जेङ्सु)

चिनियाँ कम्युनिष्ट पार्टी बिदेश विभागको आयोजनामा चीनको जेङ्सु प्रदेशको नानजिङमा दोश्रो ग्लोबल साउथ थिन्क ट्यांक्स डाइलग शुरु भएको छ । समारोहमा बिश्वका एक सयभन्दा बढी मुलुकका राजनीतिज्ञ तथा बौद्धिक व्यक्तिहरुको सहभागिता रहेको छ ।

ग्लोबल साउथ देशहरुका समस्याहरुलाई सामुहिक मुकाबिला गर्दै सहअस्तित्व, समावेशी र समानता प्राप्तिको विश्वब्यापी अभियानलाई थप सुदृढ बनाउन यस्तो कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रमको “मानव सभ्यताको गहिरो अध्ययनबाट समानता र समृद्धि” विषयक सत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्बउपप्रधानमन्त्री ईश्वर पोखरलले मतभिन्नता र तनाव चरम बिन्दुमा पुगेको वर्तमान समयमा ग्लोबल साउथ मुलुकहरु थप एकताबद्ध भएर सामुहिक हित र मानव समद्धिका लागि लाग्नुपर्ने बताउनु भयो ।

विश्वको ८५ प्रतिशत जनसंख्या ओगटेको ग्लोबल साउथका जनताको जिडिपिमा ४० प्रतिशत मात्र हिस्सा रहेको वर्तमान अवस्थालाई परिवर्तन गरेर गरिबको क्षमता विकासमा सामुहिक योगदान आवश्यकता रहेको उहाँले बताउनु भयो ।

 

बरिष्ठ उपाध्यक्ष पोखरेलले मानवीय समान विकासका लागि विश्वका विभिन्न सभ्यताको आदान प्रदान आवश्यक रहेको चर्चा गर्दैयसले सबै सभ्यतालाई थप विकास गर्न सघाउने धारणा ब्यक्त गनुभयो । सभ्यताको अनुभव आदान प्रदानले विश्वका सबै मुलुकहरुलाई आपसी समझदारी बढाउन, असमझदारी घटाउन र शान्ति तथा सुखमा ठूलो योगदान दिन सघाउने उल्लेख गर्दै उहाँले सभ्यताहरुको आदान प्रदानले नै मानव समाज आजको विकसित र वैज्ञानिक युगमा पुगेको स्मरण गराउनुभयो ।

उहाँले प्रकृतिले धेरै श्रोतहरुको उपहार दिएको नेपालमा रहेका प्राकृतिक स्रोतहरुलाई समग्र मानव विकासको हितमा प्रयोग गर्न ग्लोबल साउथका बुद्धिजीवीहरुले अध्ययन, अनुसन्धान तथा प्रचार गरेर सघाउन आग्रह गर्नुभयो ।

नेपालको जनविद्युत, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न ग्लोबल साउथका देशहरुले उपयुक्त सहजीकरण गरेमा नेपालका प्राकृृतिक स्रोतलाई ग्लोबल साउथका जनताहरुको समृद्धिका लागि उपयोग गर्न सकिने उहाँले बताउनु भयो ।

हिमाल र इतिहास साक्षी रहेको चीन र नेपालको सदियौंदेखिको समस्यारहित सम्बन्धलाई थप सुदृढ बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर तेश्रो हप्ता हुने चीन भ्रमण थप ऐतिहासिक र उपलब्धि मुलक हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सरकार अग्रसर रहेको र यसमा चीनलगायतका मित्रराष्टको महत्वपूर्ण सहयोग हुने आशा ब्यक्त गर्नुभयो ।

समारोहको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागमा मन्त्री ल्यु च्याङ्गचाओ, नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे, चिनिया कम्युनिष्ट पार्टी ज्याङसु कमिटीका सचिब तथा ज्याङसु प्रदेश सरकार स्थायी कमिटीका अध्यक्ष छिन चाङसिन, क्यूवाको निकालोपिज युनिभर्सिटीका अध्यक्ष हुर्टाडो परेज, संयुक्त सेचेल्सका अध्यक्ष पत्रिक हेर्मनीलगायत बिभिन्न देशका पदाधिकारी तथा प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।

चिनिया कम्युनिष्ट पार्टी बिदेश बिभागको निमन्त्रणामा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डल अहिले चीन भ्रमणमा रहेको छ । भ्रमण टोलीमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य शान्ति ढकाल, सम्झना देवकोटा, सरिता भुषाल, सल्लाहकार परिषद् सदस्य टंकप्रसाद बराल, निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी, मधेश प्रदेश उपसचिव मोहम्मद कैस, विदेश विभाग सदस्य डा. दिपेन्द्र श्रेष्ठ, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, प्रधानमन्त्रीका उपस्वकीय सचिव रोशनी मेचे, गौरीगञ्ज नगरपालिकाका उपाध्यक्ष पुजन न्यौपाने, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष जोशी रेग्मी सहभागि हुनुहुन्छ ।

योगदान गर्न दृढ : उपाध्यक्ष घिमिरे

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालको राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले ग्लोबल साउथको साझा बिकासका लागि आधार तयार भइरहेकोमा खुसी ब्यक्त गर्नु भयो ।

शक्ति एकताबाट जन्मिने चर्चा गर्दै उहाँले समृद्ध ग्लोबल साउथ निर्माण गर्न सबैको योगदान जरुरी रहेको उल्लेख गर्नुभयो । ग्लोबल साउथको सदस्यका हैसियतले नेपाल बिश्वब्यापी समानता र बिकासको स्तर बृद्धिका लागि योगदानगर्न दृढ रहेको उहाँले बताउनु भयो ।

उपाध्यक्ष घिमिरेले भविष्यमा के गर्ने भन्ने बिश्वब्यापी चिन्ता रहेको उल्लेख गर्दै अबको मार्ग पहिल्याउन ग्लोबल साउथ सक्षम हुने बिश्वास ब्यक्त गर्नुभयो । चीनको बिकासबाट आफू गहिरो प्रभावित भएको चर्चा गर्दै उहाँले नेपाल एक चीन नीतिप्रति दृढ भएको दोहोर्याउनु भयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend