• Saturday 25th July 2026

अब के हुन्छ रवि प्रकरण ?

अब के हुन्छ रवि प्रकरण ?


  • लुम्बिनी रिभ्यू

 

काठमाडौ । जिल्ला अदालत रुपन्देहीको जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाएको छ।

अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो।

पूर्व डिआईजी छविलाल जोशीको हकमा भने जिल्ला अदालत रुपन्देहीको आदेश उच्च अदालतले सदर गरेको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ढकाल र पराजुलीको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको आदेश उल्टाउँदै रविलाई थुनामा पठाउने आदेश गरेको हो।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रवि लामिछाने र छविलाल जोशीविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा चलेको थियो।

रूपन्देही जिल्ला अदालतले गत माघ १३ गते रवि लामिछानेलाई एक करोड धरौटी माग गर्दै तारेखमा छाड्ने आदेश दिएको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। त्यसपछि लामिछाने जिल्ला अदालतबाट सोही दिन एक करोड धरौटीमा रिहा हुनुभएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले एउटै प्रकृतिको मुद्दामा रविलाई धरौटी र छविलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्दै रविलाई समेत थुनामा पठाउन आदेश माग गर्दै उच्च अदालत बुटवलमा रिट निवेदन दर्ता गरेको थियो। उता रवि लामिछानेले समेत रुपन्देही जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशविरुद्ध साधारण तारेखमा रिहाको माग गर्दै गत फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमै रिट निवेदन दर्ता गराउनु भएको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । छविलाल जोशीलाई भने जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दामाथि उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा भएको बहस शुक्रबार सकिएको हो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend