काठमाडाै । केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो। च्याम्पियन गण्डकीले १० लाख रुपियाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपियाँ प्राप्त गरेको छ।
१ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनायो। गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९ दशमलव ४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट हुन पुग्यो। उत्कृष्ट ब्याटर अत्तरियाका विपीन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपियाँ प्राप्त गर्नुभयो। विजेता खेलाडीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुरस्कार वितरण गर्नुभयो।
चैत २३ गतेबाट सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो। बागमतीबाट चार र अन्य प्रदेशबाट दुईदुई क्लबको सहभागिता रहेको थियो।
यसपछि लगत्तै निर्धारित अन्य प्रतियोगिताहरू सञ्चालन हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनु भयाे ।

लुम्बिनी रिभ्यू