काठमाडौँ। नेपाल हक्की सङ्घको आयोजनामा राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ ।
यसै साता हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा सङ्घकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सुवर्ण श्रेष्ठले जानकारी गराउनुभयो ।
प्रतियोगिताका खेलहरू ललितपुरको च्यासल फुटबल मैदानमा हुने हुनेछ । पुरुषमा आठ तथा महिलामा चार टिमले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा मधेश प्रदेश, कर्णाली प्रदेश, नेपाल आर्मी, गण्डकी प्रदेश, कोशी प्रदेश बागमती प्रदेश, नेपाल पुलिस क्लब र एपिएफ क्लब सहभागी हुने छन् ।
सङ्घले आफ्नो वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको हो ।
एपिएफ हक्कीमा नयाँ टिम रहेको आयोजकले जनाएको छ । पुरुषमा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउट आधारमा हुने छ ।
महिलामा सहभागी नेपाल आर्मी, गण्डकी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबिच उपाधि भिडन्त हुनेछ ।
पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई दुई हजार रुपियाँबाट पुरस्कृत गरिने छ । राष्ट्रिय पुरुष हक्की प्रतियोगिता सञ्चालन गर्न करिब ३५ लाख र महिलामा २५ लाख खर्च हुने आयोजक सङ्घका सचिव असिम शर्माले जानकारी गराउनुभयो ।

लुम्बिनी रिभ्यू