• Saturday 25th July 2026

लुम्बिनी प्रदेश सभाद्धारा पाल्पाका महिला जनप्रतिनिधिलाई लैंगिक सशक्तिकरण नीति, कार्यक्रम निर्माणबारे अभिमुखीकरण

लुम्बिनी प्रदेश सभाद्धारा पाल्पाका महिला जनप्रतिनिधिलाई लैंगिक सशक्तिकरण नीति, कार्यक्रम निर्माणबारे अभिमुखीकरण

सभामुख र उपसभामुख भन्नुहुन्छः महिला जनप्रतिनिधिहरु लैंगिक असमानता तोड्न र लैंगिक एवं महिलामैत्री नीति कार्यक्रम निर्माणमा उदाहरणीय काम गर्नुस्


  • लुम्बिनी रिभ्यू

बुटवल, स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरुको सहकार्यमा लैंगिकमैत्री व्यवहार र नीति कार्यक्रम बनाउन लुम्बिनी प्रदेश सभाले काम थालेको छ ।
पहिलो चरणमा स्थानीय तहका उपाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई लैंगिक सशक्तिकरणका लागि अभिमुखीकरण कार्यक्रम थालेको हो । बुधबार पाल्पाका १० वटै स्थानीय तहका उपाध्यक्ष र कार्यपालिकाका महिला सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै सभामुख तुलाराम घर्तीले महिला जनप्रतिनिधिहरु लैंगिक असमानता तोड्न र लैंगिक एवं महिलामैत्री नीति कार्यक्रम निर्माणमा उदाहरणीय काम गर्न आग्रह गर्नुभयो । उहाले धेरै स्थानीय तहमा उपाध्यक्ष महिला भएको तर ऐन र कानुनले दिएको अधिकार प्रयोग गर्न नपाएको बताउदै यसलाई फेर्न पनि लैंगिक सशक्तिकरणका लागि सहकार्य गर्न थालेको बताउनुभयो ।


उपसभामुख मेनुका खाड केसीले महिला अधिकारको जगमा टेकेर आएका महिला जनप्रतिनिधिहरु लैंगिकमैत्री नीति कार्यक्रम बनाउन थप संवेदनशील हुनुपर्ने बताउनुभयो । स्थानीय तहका महिला जनप्रतिनिधिको अनुभव र सिकाइ सुन्दै लैंगिक हिंसा घटाउन, मातृमृत्युदर, शिशुमृत्युदर लगायतका समस्या हटाउन र लैंगिक सशक्तिकरणमा थप टेवा पुर्याउन कार्यक्रम आयोजना गरेको उपसभामुख खाडले बताउनुभयो ।
पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य वीरबहादुर रानाले भौतिक विकासले मात्रै समाज परिवर्त नहुने भएकाले सामाजिक विकासका लागि काम थालेको बताउनुभयो । जनसंख्यामा धेरै र समानुपातिक प्रणालीबाट सरकारमा महिला आएपनि नेतृत्व तहमा महिला नभएकाले त्यसलाई अब फेर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य इन्द्राकुमारी गहतराजले स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधि महिला एवं प्रदेश सभाको सहकार्यले धेरै गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र पत्रकार अमृता अनमोलले लैंगिकताका सवाल कसरी पहिचान गर्ने, लक्षीत समूदाय कसरी चिन्ने, महिला र सिमान्तकृत समूदायका आवश्यकता कसरी पहिल्याउने र नीति कार्यक्रममा समेट्ने भन्नेबारेमा अभिमुखीकरण गर्नुभएको थियो । यस्तै लैंगिकमैत्री व्यवहार, योजना तर्जुमा, बजेट बिनियोजन, कार्यान्वयन र ऐन निर्माणबारे पनि सहजीकरण भएको थियो ।
कार्यक्रममा सहभागी पाल्पाका महिला जनप्रतिनिधिहरुले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा लैंगिकताको सवाललाई मूलप्रवाहीकरण गर्ने बताउनु भएको थियो । सहभागीका तर्फबाट पाल्पाको तानसेन नगरपालिका, रामपुर नगरपालिकाका उपाध्यक्ष , वगनासकाली गाउँपालिका उपाध्यक्ष र जिल्लासमन्वय समिति उपससंयोजकले अनुभव राख्दै यस्ता कार्यत्र,म र सहकार्यले धेरै काम गर्न सकिने बताउनुभयो । उहाहरुले स्थानीय सरकारका क्रियाकलाप र आफ्नो भूमिकालाई प्रभावकारी बनाउन लैंगिक मैत्री व्यवहार र नागरिक सहकार्यलाई ध्यान दिने पनि बताउनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend