काठमाण्डौ । नेकपा (एमाले) केन्द्रीय विपद् ब्यवस्थापन तथा स्वयम्सेवा विभागले विपद् जोखिम न्यूनिकरण सम्वन्धमा विभिन्न कार्ययोजना तय गरेको छ । विभागद्धारा मंगलबार काठमाडौमा सम्पन्न विपद् जोखिम न्यूनिकरण रणनीतिक कार्यशालाले तात्कालिन रुपमा गर्नुपर्ने कार्यहरुसहित दश बूँदे कार्ययोजना पारित गरेको हो ।
हेर्नाेस भिडियाे
कार्ययोजनाहरुमा सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्ने, पूर्व तयारी र सचेतनाका कार्यहरूमा ध्यान दिने, केन्द्रमा केन्द्रीय सम्बद्ध संरचना र जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा अंगहरूमा सम्भावित बाढी–पहिरो र डुबानको जोखिमको सम्बन्धमा के–कस्तो पूर्व तयारी भइरहेको छ भन्ने सम्बन्धमा डेलिगेशन जाने, रेडक्रससहित उद्धार र राहतमा भूमिका खेल्ने संघ–संस्थाहरूको पहिचान गर्ने र आवश्यकता अनुसार सहयोगको वातावरण निर्माण गर्ने रहेका छन् ।

त्यस्तै प्रदेश सरकार र स्थानीय पालिकाहरूले यस सम्बन्धमा बजेट व्यवस्थापन र अन्य के कस्तो तयारी गरिरहेका छन्, बुझ्ने र तयारीको निम्ति अभिप्रेरित गर्ने, सम्भावित जोखिमयुक्त वस्तीहरूको पहिचान गर्ने र जोखिममुक्त गराउन सम्भव उपायको खोज गर्ने, बाढी–पहिरो र डुबानको अवस्थामा उद्धार, राहत र पुननिर्माणमा तत्परता देखाउने लगायतका रहेका छन् ।
कार्ययोजनामा जिल्लामा स्थानीय विपद् सम्बद्ध निकायहरूमा रहेका उद्धार सामग्री र उपकरणहरूको बन्दोवस्तीलाई तयारी अवस्थामा राख्न सचेत गर्ने, मोवाइल, टेलिफोन आदिको सूचना प्रणालीलाई दुरुस्त राख्ने, मातहत कमिटीहरू र जनसंगठनहरूलाई विपद जोखिम न्यूनीकरण सम्बन्धमा स्वयंसेवकीय भूमिकाको लागि तयार गर्ने र पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरु जतिबेला पनि आफूलाई जनताको सम्पर्कमा राख्ने तथा मौसम सम्बन्धी पूर्व जानकारी लिने र पार्टीपंक्ति एवं जनतालाई समेत सचेत गराउन पहल गर्ने कुराहरु पनि उल्लेख गरिएको छ ।

कार्यशालालाई सम्वोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विपद् जोखिम न्यूनिकरणका लागि पार्टीले नीतिगत नेतृत्व र ब्यवहारिक संयोजन गर्ने बताउनुभयो । पूर्व तयारी, राहत, उद्धार जस्ता कार्यहरुका लागि तत्परताका साथ लाग्न पार्टी पंक्तिलाई निर्देशन दिदै महासचिव पोखरेलले संभावित क्षतिबाट जोगाउन र जोगिन समन्वय, सहकार्य र संयोजन जरुरी हुने चर्चा गर्नुभयो । स्थानीय जनता पहिलो उद्धारकर्ता हुने बताउदै उहाँले त्यसका लागि पार्टी पंक्ती तथा स्थानीय स्वयम्सेवकहरुलाई तालीम दिन जरुरी भएको धारणा ब्यक्त गर्नुभयो ।
विभाग प्रमुख खिमलाल भट्राईले कार्यशालामा कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । उहाँले सबै जिल्लामा एमालेका विभाग बिस्तार गरेर स्थानीय स्तरमा विपद् जोखिम न्यूनिकरणको पूर्वतयारी, राहत तथा उद्धारका लागि पार्टी पंक्ती सकृय रहने बताउनुभयो ।

कार्यशालामा विपद व्यवस्थापन बिज्ञ डा.वसन्तराज अधिकारीले विपद जोखिम ब्यवस्थापनबारे अबधारणा पत्र प्रस्तुत गर्दै यस बर्ष विगतमा भन्दा बढि बर्षासंगै बढि तापक्रम बढ्ने भएकाले त्यसबाट हुनसक्ने जोखिमबारे सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । विगतका क्षतिको तथ्य र संभावित जोखिमहरुबारे पुर्वानुमान प्रस्तुत गर्दै उहाँले जोखिम न्यूनिकरणका लागि विभिन्न तहका सरकार, समुदाय र दलहरुको सकृयता जरुरी भएको चर्चा गर्नुभयो ।
विभागका प्रमुख भट्राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका अगुवाहरु, सरोकारवाला र पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भौतिक उपस्थितीसंगै कार्यक्रममा भर्जुवल माध्ययमबाट बिभिन्न जिल्लाबाट पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरु सहभागि हुनुहुन्थ्यो ।
हेर्नाेस थप तस्बिरहरू


लुम्बिनी रिभ्यू