• Saturday 25th July 2026

एउटा सपनाको विहे अद्भुत

एउटा सपनाको विहे अद्भुत


  • लुम्बिनी रिभ्यू

नम्रता अर्याल
रुपन्देही, गैडहवा — रुपन्देहीको गैडहवामा एउटा अद्भुत घटना भएको छ । गाउँलेहरुले बिना दाइजो बिहे सम्पन्न गरिदिएका छन् । गैडहवा गाउँपालिका–७ बर्गदैया, यही ठाउँमा सम्पन्न भयो फरक खालको बिहे । बिहेमा दाइजो थिएन । लाखौंको भोज थिएन । महँगो साजसज्जा थिएन । तर, खुशी थियो । माया थियो । साथ थियो ।

गाउँको माया र एकताको अद्भुत उदाहरणः गैडहवामा बिना दाइजो सम्पन्न भएको बिहेले मधेसमा नयाँ सन्देश दिएको छ । २१ वर्षीया पुष्पा लोध र २४ वर्षीय ईश्वर लोधको बिहे भएको हो । पुष्पाको परिवार कमजोर आर्थिक अवस्थामा थियो । बाबु–आमाले दिनभरि मेहनत गरेर पेट पालिरहेका थिए, छोरीको बिहेको खर्च जुटाउने अवस्था थिएन । समस्या घरभित्र मात्रै सीमित थिएन, गाउँलेहरुले थाहा पाएपछि सबैजना जुट्न थाले ।

गाउँका युवाहरुले फेसबुकमा सहयोगको अपिल गरे, जसले सामाजिक सञ्जालमा चर्को चर्चा बटुल्यो । गाउँभित्र र बाहिरबाट सहयोग आउन थाल्यो । केही दिनमै डेढ लाख रुपैयाँभन्दा बढी संकलन भयो । कोहीले नगद दिए, कोहीले चामल, कोहीले तरकारी, कोहीले तेल, कोहीले भाँडाकुडा । कोहीले मण्डप सजाउने जिम्मा लिए, कोहीले खानाको व्यवस्था गरे, कसैले नाचगानको कार्यक्रम बनाए । सबैले आ–आफ्नो क्षमता अनुसार साथ दिए । कसैले श्रम दिए, कसैले सल्लाह, कसैले समय ।

बिहेको दिन बिहानैदेखि गाउँमा उत्सवको माहोल थियो । आँगनमा रङ्गीचङ्गी फुलमाला, गाउँका युवाहरुको हाँसो, बालबालिकाको कुदाकुद, सबैको अनुहारमा उत्साह थियो । गाउँका आमा–बुवा, दाजु–भाइ, दिदी–बहिनी सबैले बेहुलीलाई आशीर्वाद दिए, खुशीका आँसु साटे ।
१५० जना जन्ती आएका थिए । सबैलाई खानाको राम्रो व्यवस्था गरिएको थियो । गाउँकै कलाकारहरुले गरेको बिरहामा सबै झुमेका थिए । कुनै महँगो डेकोरेशन थिएन, कुनै ठूलो होटलको डिनर थिएन, तर खुशीको कुनै कमी थिएन । पुष्पाकी आमा भन्छिन्, “बिहे कसरी गर्छौं भनेर धेरै रात निन्द्रा परेको थिएन, गाउँलेहरुले जुन माया देखाए, त्यो सपनाभन्दा ठूलो हो ।” पुष्पाका बुबा मुनीराम लोधले भने, “गाउँलेहरुको हात थामेपछि छोरीको बिहे सफल भयो । यस्तो माया सबैले पाउँन् भन्ने चाहन्छु ।”
गाउँका युवाहरु भन्छन्, “हामीले देखायौं—दाइजो बिना पनि बिहे हुन्छ, महँगो भोज बिना पनि बिहे रमाइलो हुन्छ । पैसा नभए पनि मन र माया भए पुग्छ ।” वडा अध्यक्ष लालबहादुर केवट भन्छन्, “गाउँको एकता नै हाम्रो बल हो । यस्तो उदाहरण मधेसमा फैलिनुपर्छ । सबैले सिक्नुपर्ने कुरा हो—दाइजोको पछि नलागौं, देखावटी खर्च घटाऔं, वास्तविक खुशी सस्तोमा पनि पाइन्छ ।”

समाजसेवी तुल्सीराम यादवको भनाइमा थप गहिरो अर्थ छ—“घाँटी हेरी हाड निल्नुपर्छ, जसको जति सकिन्छ त्यति योगदान गर्नुपर्छ । पैसा नभए पनि हातेमालो र सहयोगले असम्भव केही हुँदैन भन्ने कुरा गैडहवाले देखायो ।” यो बिहेले मधेसको समाजमा गहिरो प्रश्न उठाएको छ—के बिहे गर्दा लाखौं खर्चिनैपर्छ ? के छोरीको बिहेमा दाइजो दिनुपर्छ भनेर ऋणमा डुब्नुपर्ने अवस्था बनाउनु पर्छ ?

गैडहवाको उदाहरणले देखाएको छ—छोरीको बिहे गर्दा पैसाले होइन, एकताले महत्व राख्छ । गाउँलेहरुको भनाइ अझ उत्साहजनक छ—“फेरि यस्तै समस्या आयो भने, हामी सबै मिलेर सँगै उभिनेछौं, सँगै बिहे गराउनेछौं । यो हाम्रो गाउँको परम्परा बनाउनेछौं ।” गैडहवाको बर्गदैयाबाट आएको यो समाचारले मधेस मात्र होइन, सिङ्गो देशभरि एउटा नयाँ सोच र सन्देश फैलाइरहेको छ—बिहे सस्तोमा पनि हुन्छ, माया धेरै हुनुपर्छ, देखावटी खर्च घटाउनुपर्छ, अनि मात्रै समाजमा खुशी बाँडिन्छ । गाउँलेहरुको हातेमालो र सहयोगको यो परम्परा अब अरू गाउँहरुले पनि सिक्नुपर्छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend