• Saturday 25th July 2026

अखिलकाे महाधिवेशन : प्रधानमन्त्रीले के भन्नुभयाे ? (हेर्नाेस भिडियो )

अखिलकाे महाधिवेशन : प्रधानमन्त्रीले के भन्नुभयाे ? (हेर्नाेस भिडियो )


  • लुम्बिनी रिभ्यू

काठमाडौँ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गर्नुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र एमाले बिचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्‍याउनुभयो ।

“हाम्रा विरोधीले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछ भनेको छौँ । प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ ”, अध्यक्ष ओलीले भन्नुभयो, “हामी अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ–आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौँ, त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।”

प्रविधिको यस जमानामा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गर्न बाद्य बनाउने यही सङ्गठन भएको र आफूहरूले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गर्नुभयो । उहाँले यस गणतन्त्रको रक्षा, सुदृढ र गतिशील तुल्याउन विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उहाँले यस सङ्गठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी सङ्गठनका रूपमा रहन निर्देश गर्नुभयो ।

“तपाईंहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिनोस्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन”, उहाँले भन्नुभयो, “एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन् । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारीरूपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ । पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन ।”

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend