• Saturday 25th July 2026

संचारिका समूहको तीज विशेष कार्यक्रम

संचारिका समूहको तीज विशेष कार्यक्रम

संस्कृति संरक्षण तथा पर्यटन पर्वद्धनका लागि तीजको महत्वबारे बहस


  • लुम्बिनी रिभ्यू

बुटवल – तीज नजीकीदै जांदा रुपन्देहीका संचारकर्मी महिलाहरुलाई पनि तीजले छपक्कै छोएको छ । सधै कलम कापी, क्यामेरा छोपेर रिपोटिङमा खट्ने संचारकर्मी महिलाहरु बीहिबार तीज विशेष कार्यक्रममा रमाए । कोही नाचे कसैले गाए । कसैले ताली बजाएर रमाइलो माहोल बनाउन समर्थन जनाए ।
संचारिका समूह रुपन्देहीले संस्कृति संरक्षण तथा पर्यटन पर्वद्धनका लागि महिला पत्रकार विषयक अन्तरक्रिया तथा तीज विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा रुपन्देहीका विभिन्न संचारमाध्ययममा कार्यरत संचारकर्मीहरु सहभागी भएका थिए । रुपन्देहीका संचारकर्मी महिलाहरुले सहकर्मीहरुबीच खुसी साट्दै मनाएको तीज छुट्टै उल्लासमय देखिएको थियो ।


कार्यक्रममा संस्कृति संरक्षण तथा पर्यटन पर्वद्धनका लागि तीजको महत्वबारे बहस गरिएको थियो । कार्यक्रम उद्घाटनमा बोल्दै संचारिका समूह रुपन्देहीका अध्यक्ष मीना ढकालले तीजमा माइत वा आफन्त कहाँ जान नपाउने कामकाजी संचारकर्मी महिलाहरुलाई एकै ठाउँमा भेला गराएर रमाइलो गर्न कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
तीज महिलाहरुको दुख सुख साट्ने र रमाउने पर्व हो । तीजका बारेमा धेरै टिप्पणी भएको भन्दै कार्यक्रममा सहभागीहरुले महिला लक्षित पर्व भएकै कारण धेरै आलोचना खेप्नु परेको बताए । प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले महिलाहरु रमाएकै कारण मौलिकताको प्रश्न उठाउदै कतिपयले तीज पर्वमाथि अनावश्यक प्रश्न उठाएको बताउनुभयो ।


तीज आफ्ना पीरबेथा र परिवर्तनका कुरा गीत बनाएर नाच्ने महिला सशक्तिकरणको पर्व पनि हो । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले घरको चुलोचौकोबाट बाहिर निस्केर सामाजिक, राजनीतिक लगायतमा आवद्ध महिलाले आफू कार्यरत संघसस्थामा भेट्नु र तीज मनाउनु स्वभावीक भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै संचारिका समूह रुपन्देहीका अध्यक्ष अमृता अनमोल, निवर्तमान अध्यक्ष निरा गौतम, डब्लुडबलु जेका निवर्तमान अध्यक्ष भगवती पाण्डे लगायतले तीज महिलाहरुका लागि विशेष पर्व भएकाले तीजका बारेमा अनावश्यक टिप्पणी आवश्यक नरहेको बताउनुभयो । यसअघि बोल्दै पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य रामराज पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष रामराज पोखरेल र जिल्ला अध्यक्ष दिनेश पाण्डेले तीज धेरै दिन मनाउदा मौलिकता बिग्रीयो कि भनेर चिन्ता व्यक्त गर्नुभएको थियो ।


संचारिका समूह रुपन्देहीका महासचिव छाया पन्थले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष अस्मिना पाण्डेले स्वागत गर्नुभएको थियो । तीज विशेष कार्यक्रममा सहभागी संचारकर्मी महिलाहरुले प्रतिश्पर्धात्मक रुपमा नाचगान गरेर रमेत रमाइलो गरेका थिए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend