काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले काम सुरु गरेको छ ।
मन्त्रीपरिषद्को असोज ५ गतेको बैठकले पुनरावेदन अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।
अध्यक्ष कार्कीले बिहीबारदेखि काम सुरु गरेको बताउनुभयो । गठनको कार्यादेश अनुसार आयोगले निष्पक्ष रूपमा काम गर्ने पनि कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले काम सुरु गरेका छौँ । प्राप्त कार्यादेशमा रहेर हामी काम अघि बढाउँछौँ । प्राप्त प्रमाणका आधारमा आन्दोलनका व्रmममा भएका घटना कानुनबमोजिम भए वा नभएको निक्र्योल गरी कानुनविपरीत भएमा जिम्मेवार व्यक्तिलाई कारबाहीका लागि राय दिन्छौँ ।”

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । यस्तै सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका सरकारी र सार्वजनिक संरचनामा क्षति पुगेको थियो । राजनीतिक दलका शीर्ष नेताका निजी सम्पत्ति तथा पार्टी कार्यालयहरूमा पनि क्षति पुगेको थियो ।
मानवीय र भौतिक क्षति उच्च भएपछि आन्दोलन गर्ने पक्षको मागमा सरकारले आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्षसमेत रहनुभएका कार्कीको अध्यक्षतामा गठित आयोगमा नेपाल प्रहरीका पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्छ । आयोगले तीन महिनाको समय पाएको छ ।

लुम्बिनी रिभ्यू