• Saturday 25th July 2026

निर्वाचन तयारीः के के भयाे अहिलेसम्म ? के के हुन बाँकी छ ?

निर्वाचन तयारीः के के भयाे अहिलेसम्म ? के के हुन बाँकी छ ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । आगामी निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो।

प्रधानमन्त्री कार्कीले निर्वाचनमा उम्मेदवारको खर्च घटाउन र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको व्यवस्था गर्न कति सम्भव छ भनेर चासो राख्नुभएको थियो।

आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको जानकारी दिएको छ।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुनेक्रम पनि उत्साहजनक रहेको बताउँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, ‘हाम्रो मूल्यांकनअनुसार, तोकिएकै मितिमा निर्वाचन गराउन सम्भव छ र आयोग यसका लागि सक्षम छ। कुनै दुविधा राख्नुपर्ने अवस्था छैन।’

प्रधानमन्त्री कार्कीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको तीन बुँदे पत्रको सम्बोधनमा भएका कामको प्रगति पनि आयोगले जानकारी गराएको थियो। जसअनुसार, आयोगको अनलाइन प्रणालीमा मतदाता नामावली दर्ताको चाप व्यवस्थापन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म दुई सत्रमा काम गर्न थालिएको, जनशक्ति पनि बढाइएको र प्राविधिक समस्याको पनि तत्काल समाधानको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

आयोगले बिहीबारबाटै राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा पनि मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया सुरु गर्दै छ। यसका लागि आज रातभरिमा प्राविधिक तयारी र परीक्षणका सबै काम गरिसक्ने आयोगले जनाएको छ।

हालसम्म एक करोड ८३ लाख ७७ हजार मतदाता आयोगको तथ्यांकमा अभिलिखित रहेको र पछिल्लो निर्वाचन घोषणापछि मात्र दुई लाख ९ हजार ५५२ मतदाता थपिएको विवरण पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले अवगत गराउनुभयो।

हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उहाँको भनाइ छ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend