• Saturday 25th July 2026

अन्ततः बयान दिए तत्कालीन गृहमन्त्री लेखकले, के भने बयानमा ?

अन्ततः बयान दिए तत्कालीन गृहमन्त्री लेखकले, के भने बयानमा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । बयान नदिने अडान लिएका तत्कालीन गृहमन्त्री रमेश लेखकले अन्ततः जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिनु भएकाे छ । साे क्रममा उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताउनुभयाे ।

उहाँले बल प्रयोगसम्बन्धी कुनै पनि लिखित वा मौखिक आदेश आफूले नदिएको दाबी गर्नु भएको हो ।

बल प्रयोग गर्ने वा नगर्ने निर्णय कानुनअनुसार तत्कालीन अवस्थामा सुरक्षामा खटिएका अधिकारीहरूको जिम्मेवारी हुने उहाँको भनाइ छ । “मन्त्री वा प्रधानमन्त्रीले बल प्रयोग गर्न आदेश दिने कुनै कानुनी व्यवस्था छैन,” उहाँले स्पष्ट पार्नुभयो । पूर्वमन्त्री लेखकले उक्त आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आयोगसमक्ष लिखित रूपमा आफ्नो धारणा र विवरणसमेत प्रस्तुत गरिसकेको जानकारी दिनुभयो ।

पूर्वमन्त्री लेखकका अनुसार गत भदौ २३ गते हुने जेनजी समूहको प्रदर्शनबारे सुरक्षा निकाय तथा गृह प्रशासनबाट पूर्वसूचना प्राप्त भएपछि भदौ २२ गते नै केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको थियो । बैठकमा सुरक्षा निकायहरूले सङ्कलन गरेका सूचनाको विश्लेषण गर्दै प्रदर्शन शान्तिपूर्ण हुने आयोजक पक्षबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको थियो ।

बैठकअघि नेपाल दूरसञ्चार प्राधिकरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग छलफल गरी विषयवस्तु बुझ्ने काम गरिएको उहाँले जानकारी दिनुभयो । “कुनै पनि हालतमा मानवीय क्षति नहोस्, भन्ने मेरो स्पष्ट आग्रह थियो,” पूर्वमन्त्री लेखकले भन्नुभयो । प्रदर्शन कुनै राजनीतिक दल वा सङ्गठित संस्थाको आयोजनामा नभएकाले नेतृत्वविहीन हुनसक्ने तथा घूसपैठको सम्भावनाप्रति सुरक्षा निकायलाई सचेत गराइएको थियो ।

बैठकमा अशान्ति वा बल प्रयोगसम्बन्धी कुनै निर्णय वा योजना नबनाइएको स्पष्ट पार्दै उहाँले सबै सुरक्षा निकायबीच समन्वय गरी शान्तिसुरक्षाको व्यवस्था मिलाउने निष्कर्ष निकालिएको बताउनुभयो । केन्द्रीय सुरक्षा समितिको बैठकपछि तत्कालीन प्रधानमन्त्रीसँग बालुवाटारमा औपचारिक छलफल गरिएको र त्यहाँ पनि मानवीय क्षति नहोस् भन्ने विषयमा जोड दिइएको पूर्वगृहमन्त्री लेखकले उल्लेख गर्नुभयो ।

गत भदौ २३ गते बिहान माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वर क्षेत्रमा पुग्दा उग्र र हिंसात्मक बनेको जनाउँदै उहाँले प्रदर्शनमा घुसपैठ भएको बताउनुभयो । उहाँका अनुसार प्रदर्शनका आयोजकहरूले नै आन्दोलन ‘हाइज्याक’ भएको भन्दै सहभागीहरूलाई तितरबितर हुन आह्वान गरेका थिए ।

प्रदर्शन हिंसात्मक बन्दा केही व्यक्तिको मृत्यु र धेरै घाइते भएपछि आफू अत्यन्त पीडित र मर्माहित भएको उल्लेख गर्दै पूर्वगृहमन्त्री लेखकले सोही दिन नै नैतिकताको आधारमा राजीनामा आफूले दिएको बताउनुभयो । “मानिसको मृत्यु भएपछि पदीय जिम्मेवारीबाट राजीनामा दिनु नैतिक कर्तव्य ठानेँ,” उहाँले भन्नुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend