• Saturday 25th July 2026

ओलीमाथि लगाइएको स्थानहद फुकुवा

ओलीमाथि लगाइएको स्थानहद फुकुवा


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो ।

आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थानहद फुकुवा गरिएको जानकारी दिनुभयो ।

“भदौ २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न असोज १२ गतेको बैठकबाट निर्णय गरिएको थियो”, आयोगको निर्णयमा भनिएको छ, “ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका काम कारबाही सम्बन्धमा यस आयोगबाट उहाँसँग सोधपुछलगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उहाँको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ ।”

आयोगको टोली बयान लिने क्रममा आइतबार गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेको थियो । आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाउनुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend