• Saturday 25th July 2026

होटल व्यवसायी शोभाकर बञ्जाडे अर्घाखाँचीबाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस

होटल व्यवसायी शोभाकर बञ्जाडे अर्घाखाँचीबाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा सिफारिस


  • लुम्बिनी रिभ्यू

अर्घाखाँची, नेपाल पर्यटन व्यवसायी संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज शोभाकर बञ्जाडेलाई नेपाली कम्युनिस्ट पार्टीले अर्घाखाँची जिल्लाबाट आगामी २०८२ फाल्गुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

अर्घाखाँची जिल्लामा सक्रिय कम्युनिस्ट नेताहरूको बैठक र छलफलपछि बञ्जाडेको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको हो। पार्टीले संगठन निर्माण, जनसम्पर्क, सामाजिक योगदान र विचारप्रतिको प्रतिबद्धतालाई आधार मानेर उनको नाम अघि सारेको बताइएको छ। लामो समयदेखि पर्यटन व्यवसाय र संगठन निर्माणमा सक्रिय बञ्जाडे हाल नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्जको जिम्मेवारीमा छन्। साथै उनी नेपाल होटल व्यवसायी संघ (लुम्बिनी) एनएचएका सदस्य समेत हुन्।

पर्यटन, रोजगार, स्थानीय अर्थतन्त्र र निजी क्षेत्रसँग राज्यको सम्बन्ध सुदृढ बनाउने सवालमा उनको स्पष्ट धारणा रहेको पार्टीको भनाइ छ। स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म पार्टी गतिविधिमा निरन्तर संलग्न बञ्जाडे अर्घाखाँचीमा संगठन सुदृढीकरण, युवालाई राजनीतिक रूपमा सक्रिय बनाउने र उत्पादनमुखी अर्थतन्त्रको बहस अघि बढाउँदै आएका नेता मानिन्छन्। पार्टी स्रोतका अनुसार, विचार, व्यवहार र जनआधार भएका नेताको रूपमा बञ्जाडे सक्षम उम्मेदवार हुन्। उम्मेदवारी सिफारिसपछि प्रतिक्रिया दिँदै बञ्जाडेले पार्टीले दिएको जिम्मेवारीलाई जनताको भरोसाको रूपमा लिएको बताएका छन्।

यदि अन्तिम उम्मेदवारको रूपमा जिम्मेवारी पाइयो भने अर्घाखाँचीका जनताको आवाज सदनसम्म पुर्याउन इमानदारीपूर्वक लाग्नेछु, उनले भने। नेपाली कम्युनिस्ट पार्टीले अर्घाखाँचीमा प्रत्यक्षतर्फ बलियो उम्मेदवार अघि सारेसँगै आगामी निर्वाचन थप रोचक बन्ने देखिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend