तस्विरहरूः अदिपसन ज्ञवाली
बुटवल ।
आधा अङ्ग गयो मेरो, यो आधा अङ्ग बाँकी छ
यो अपाङ्ग भई जिउने, जिन्दगी कति बाँकी छ
आमाको दूधको भारा, अझै केही तिर्न बाँकी छ
आमाकै निम्ति हो जिउने, जिन्दगी जति बाँकी छ
……
मैया हुन् देशकी दुर्गा, संहारकारिणी बनिन
वर्गसंघर्षमा मेरी, सच्ची अर्धाङ्गिनी बनिन्
जे देखिन सपना मैया, त्यो पूरा गर्न बाँकी छ
अँधेरा झुपडीभित्र, उजेलो छर्न बाँकी छ
………
बरिष्ठ साहित्यकार तथा पूर्वसांसद रामचन्द्र भट्टराईले श्रीमती मैयादेवी भट्टराईको स्मृतिमा समर्पित गरेका कविताका अंशहरू हुन यी । ८४ वर्षीय भट्टराईले कवितामार्फत नै श्रीमती मैयाको बहुआयामिक योगदानको स्मरण गर्दै श्रद्धासुमन अर्पण गरे ।

नेपाली महिला मुक्तीसंगै राजनीति, सामाजिक, सांस्कृतिक लगायतका आन्दोलनमा उच्च योगदान गरेकी मैयाको गत बर्ष माघ १ गते निधन भएको थियो ।
उनै मैया भट्टराईको प्रथम स्मृति दिवसमा बिहिबार बुटवलमा सम्मान, पुरस्कार वितरणसंगै विभिन्न कार्यक्रम भइरहेका थिए ।
त्यही कार्यक्रममा पूर्वसांसद भट्टराईले मैया श्रीमती मात्रै नभएर देश र जनताका लागि अनेक योगदान गरेकी साहसी योद्धा भएको चर्चा गर्दै मैयाको अदम्य साहसकै कारण आफू राजनीति र साहित्यमा सफल भएको स्मरण गरे ।

कार्यक्रममा पूर्वसांसद देवेन्द्र घिमिरेले मैया भट्टराई लोकतान्त्रिक आन्दोलनकी प्रेरक व्यक्तित्व र साझा विभूति भएको उल्लेख गर्दै उनका संघर्षका कथा सबैका लागि प्रेरणादायी भएको बताए ।
साहित्यकार ऋषिराम भुसालले स्वर्गीय भट्टराईको जीवनीमाथि चर्चा गर्दै समाजका बहुआयामिक आन्दोलनहरुमा उनको सकृयता र साहसी भुमिका सधै स्मरणीय रहने बताए ।
लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले मैयादेवीको स्मृतिमा गरिएको यो रचनात्मक कार्यले इतिहासका ओझेल परेका पात्रहरूको संरक्षणमा मद्दत पुग्ने बताए ।
वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईँले मैयादेवी धेरैका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे ।
साहित्यकारहरू रुद्र ज्ञवाली, कविराज पौडेल, राजनीतिकर्मीहरू निर्मल जिसी, बिष्णु ढकाल, पद्मा प्याकुरेल, अधिवक्ता मन्जिला ज्ञवाली लगायतले मैयाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै नयाँ पुस्तालाई यस्ता ऐतिहासिक संघर्षका कथा बुझाउन आवश्यक रहेको बताए ।
सो अवसरमा रूपन्देहीको राजनीतिक तथा महिला आन्दोलनमा अथक योगदान गरेकी विन्दुदेवी लोधलाई सम्मान गरिएको थियो । मैयाको स्मृतिमा स्थापित ‘मैया–राम प्रतिष्ठान’ अक्षयकोषबाट लोधलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानका सचिव हरि ज्ञवालीका अनुसार मैयाको स्मृति र योगदानलाई संस्थागत गर्न ७ लाख ५० हजार रुपैयाँको ‘मैया–राम प्रतिष्ठान’ अक्षयकोष स्थापना भएको छ । यो कोषबाट पहिलो पटक लोधलाई सम्मान गरिएको हो ।
पञ्चायती कालमा राजनीतिक सेल्टरदाताका रूपमा चिनिने योद्धा झ्याउल लोधकी श्रीमती विन्दुदेवी हाल बिरामी भई अस्पतालमा उपचाररत छन् । तराईको कठिन परिस्थितिमा राजनीतिक चेतना जगाउन खेलेको भूमिका र दलहरूले गरेको उपेक्षालाई मध्यनजर गर्दै उनलाईलाई नगद राशिसहित सम्मान गरिएको प्रतिष्ठानका सचिव ज्ञवालीले बताए ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष लक्ष्मीनाथ ज्ञवाली ” सुमेरु” काे नेतृत्वमा सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सुरूमा अध्यक्षकाे मन्तव्य राख्दै उनले मैयादेवीकाे याेगदान, प्रतिष्ठान गठनकाे आवश्यकता, दीगाेपनकाे याेजना लगायतका बारेमा जानकारी गराएका थिए ।
हेर्नोस कार्यक्रमका थप तस्विरहरु








लुम्बिनी रिभ्यू