
बुटवल । लुम्बिनीमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेल सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा आइतबारदेखि प्रदेशस्तरीय विभिन्न विधामा छनोट प्रतियोगिता सुरु भएको हो । छनोट खेलको मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । नवौ राष्ट्रिय प्रतियोगिताको रनिङ ट्रफी टुर कार्यदलले ल्याएको ट्रफीलाई बुटवलको एन्फा एकेडेमीमा अनावरण गर्दै उनले औपचारिक रुपमा छनौट प्रतियोगिताको समेत उद्घाटन गरेका थिए । खेल उद्घाटन गर्दै उनले आठौं खेलभन्दा धेरै कृतिमान राख्नेगरी अगाडि बढ्न सुझाब दिए ।
छनौट खेल अन्तरगत आइतबारदेखि बुद्धिचाल, पुरुष फुटबल, महिला भलिबल, कुश्ती शुरु भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईका अनुसार प्रतियोगिता अन्तरगत पुरुष र महिला फुटबल, महिला भलिबल खेल बुटवल एन्फा एकेडेमीमा असोज २ देखि ४ गतेसम्म हुनेछ । बुद्धिचाल बुटवलमै २ र ३ गते, तेक्वान्दो, ब्याडमिन्टन खेलहरु भैरहवामा पुरुष/महिला कबड्डी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल रुपन्देहीमै असोज २ देखि ३ गते हुने छन् । यसैगरी पुरुष भलिबल नवलपरासी तथा सितोरिया कराते कपिलवस्तुमा ४ र ५ गते हुनेछ ।
एथ्लेटिक्स खेल बेलझुन्डी, दाङमा, फुलकन्टयाक्ट कराते, टेबलटेनिस, हन्डबल तुल्सीपुर दाङमा असोज ६ र ७ गते हुनेछ । यसैगरी बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिङ, पौडी, जिम्न्यास्टिक, पुरुष र महिला हक्की, साइक्लिङ खेलहरु बाकेमा असोज ८, ९ र १० गते हुनेछ । तर, रोल्पामा ११ र १२ गते हुने भनिएको आरटिएफ तेक्वान्दो खेल रुपन्देहीमा असोज ४ र ५ गते सारिएको छ ।
त्यस्तै, सेप्राक्ता ताराताल बर्दियामा १० गते, पुरुषरमहिला खोखो भुरिगाउ“ बर्दियामा १० र ११ गते हुने भएको छ । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय स्वयंसेवकहरुको सहभागिता रहने छ ।

लुम्बिनी रिभ्यू