
रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ उम्मेदवारी दर्तादेखि नै चर्चामा छ । यहाँ एमाले सचिव छविलाल विश्वकर्मा र भर्खरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । विद्यार्थी राजनीतिसँगै जातीय विभेदको आन्दोलनमा सहभागी भएका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ संगठन जातीय उत्थान मञ्चका संस्थापक हुन् । २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उनी उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बने । एमालेको छैटौं महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका उनी सातौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज बने ।
दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बने । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका उनी दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित भए । २०७४ मा उनै रज्जाकलाई पराजित गरी विश्वकर्मा प्रतिनिधिसभामा निर्वाचित भए । एमाले केन्द्रीय सदस्य विश्वकर्मा लुम्बिनी प्रदेशको इन्चार्ज पनि हुन् ।
चुनावी तयारी, एजेन्डा र प्रतिस्पर्धीका बारेमा विश्वकर्मासँगको कुराकानी :
मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताहरू देशमा व्यवस्था फेरियो, अब हाम्रो अवस्था फेरिनुपर्छ भन्ने धारणा राख्नुहुन्छ । बुद्ध मावली देवदह रहेको मेरो निर्वाचन क्षेत्रमा दुईथरी मतदाता हुनुहुन्छ । उत्तरी क्षेत्रमा विकासको पहुँच अलि पुगेको छ । तर, दक्षिणी क्षेत्रमा निकै कम मात्र विकास छ । पूर्वाधार विकास र सामाजिक तथा मानवीय विकास उहाँहरूको चाहना छ । सुरु भएका विकास योजना छिटो सक्नुपर्छ भन्ने उहाँहरूको माग छ ।
सबैजसो मतदाताका घरदैलोमा पुगेको छु । म चुनावको बेलामा मात्र होइन अरुबेला पनि मतदातालाई भेटिरहन्थेँ । यसअघिको पनि सांसद भएकाले अधिकांश मतदाता परिचित नै हुनुहुन्छ । छविलाल छलकपट नभएको विकासप्रेमी नेता हो भन्नुहुन्छ । मतदाताको विश्वाश मप्रति छ भने मेरो भर मतदाताप्रति छ ।
तपाईंका एजेन्डा के कस्ता छन् ?
पहिलो एजेन्डा विकास र संवृद्धि नै हो । बुद्धमावलीलाई केन्द्रमा राखेर यसलाई बुद्धजन्मस्थल लुम्बिनीसँग जोड्ने, यस क्षेत्रको उत्खनन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गराउने र बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य छ । त्यसका लागि केही काम सुरु भएका छन् तिनलाई सक्नु छ । कृषिको व्यवसायीकरण र उत्पादित वस्तुको बजारीकरण आवश्यक छ । त्यसका लागि सिंचाइ र कृषि सडकलाई प्राथमिकतामा राखेको छु । भरपर्दो खानेपानी, विद्युतीकरण र सडकको स्तरोन्नति, युवा स्वरोजगारलाई अभियानका रूपमा अगाडि बढाउने छु । पछिल्लो समयमा उद्योग खुल्ने क्रम बढेको छ । उद्योगका लागि सही जग्गा पहिचान र त्यसमा स्थानीयलाई रोजगारी दिने वातावरण मिलाउने प्रतिबद्धता जनाएको छु । अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या पनि धेरै छ । त्यसको समाधानका लागि पहल गर्ने विश्वाश पनि दिलाएको छु । लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदहमा विस्तार गर्ने, प्राविधिक शिक्षालय खोल्ने र राम्रो अस्पताल बनाउने योजना पनि बनाएको छु ।
तपाईंलाई नै मत किन दिने मतदाताले ?
म एमालेको सिपाही हुँ । देशको विकास र समस्याको निकासका लागि अहिले एमाले आवश्यक छ । मेरो क्षेत्रको विकासमा मेरो स्पष्ट भिजन छ । काममा पारदर्शीता, सुशासन र इमान्दारिता छ । लोकतन्त्रको सुन्दर पक्ष दलीय व्यवस्था हो । मेरो निर्वाचन क्षेत्रमा खासै दलीय प्रतिस्पर्धा छैन । यसर्थ लोकतन्त्रको पक्षमा दलबाट उम्मेदवार बनेको म साझा उम्मेदवार नै हुँ ।
लोकतान्त्रिक गणतन्त्रको स्थापनाले बल्ल सबै जात,वर्ग लिंगको शासन प्रक्रियामा पहुँच बढाएको छ । म लोकतान्त्रिक व्यवस्थाअघि राज्यले उपेक्षा गरेको दलित वर्गको प्रतिनिधि पनि हुँ । मैले दलभन्दा माथि उठेर जातीय विभेद, वर्गीय विभेद र सामाजिक कुसंस्कारविरुद्ध काम गरेर सामाजिक समानता ल्याउन भूमिका खेलेको छु । यसर्थ मतदाता मलाई मत दिन र जिताउन चाहनुहुन्छ ।
अघिल्लो चुनाव र अहिले के फरक पाउनु भएको छ ?
अघिल्लो चुनावमा यस क्षेत्रबाट कांग्रेस प्रतिस्पर्धामा थियो । २०७० र २०७४ दुवैमा मैले कांग्रेसका अब्दुल रज्जाकसँग मुख्य प्रतिस्पर्धा गरेको थिएँ । २०७० मा झिनो मतले पराजित भए पनि २०७४ मा जितेको थिएँ । अहिले ठूलो दल कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपालगायतका उम्मेदवार हुनुहुन्न । यसर्थ मलाई दलहरूको साझा उम्मेदवार म नै हो जस्तो लाग्छ ।
लोकतन्त्र बचाउन दल बाँच्नुपर्छ । दल बचाउन मलाई भोट दिनुहुन्छ जस्तो लाग्छ । तेस्रो पटक चुनावी मैदानमा उत्रिएको मेरा लागि यो क्षेत्र र मतदाता परिचित हुन् । कतिपय ठूला र महत्त्वपूर्ण योजना ल्याएर जनमत बनाएको छु । अघिल्लो कार्यकालमा आफूले गरेका विकास मेरा लागि तटस्थ मत माग्ने बलियो आधार बनेको छ । यसैमाथि यो भूमिमा जति पसिना बगाइएको छ, विकासका जग खनिएको छ, त्यसको आधारमा हाम्रो जित्ने आधार बनेको छ ।
तपाईंको जित्ने आधार के छ ?
मेरो दल एमाले र यस क्षेत्रको विकासमा मेरो भूमिका पहिलो आधार हो । यसबाहेक म लोकतन्त्रमा दलीय प्रतिस्पर्धा गर्नुपर्छ र हारजितको सामना गर्न सक्नुपर्छ भन्ने व्यक्ति हुँ ।
मेरो क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, लोसपालगायतका उम्मेदवार नै नभएकाले म एमाले र हामीलाई समर्थन गर्ने राप्रपा, जसपाको मात्र होइन सिंगो दलीय व्यवस्थाको साझा उम्मेदवार हुँ । दलित, उत्पीडित र पिछडा जातिको पक्षमा वकालत गर्ने व्यक्ति पनि हुँ । म मेरै दल र मेरै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेको छु । त्यसैले म चुनावी दौडमा अगाडि छु ।

लुम्बिनी रिभ्यू