• Saturday 25th July 2026

बुटवलमा १ लाख राशीको मेयर कप अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता भोलिदेखि

बुटवलमा १ लाख राशीको मेयर कप अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिता भोलिदेखि

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने


  • लुम्बिनी रिभ्यू

बुटवल, विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न भोलि बिहीबारदेखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु हुँदैछ।

माघ २५ गते बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।

प्रतियोगिताको बिहीबार बिहान ११ बजे देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ।

उद्घाटन खेल न्यु होराइजन मावि र तिलोत्तमा माविका बीचमा मध्यान्ह १२ बजे फिफा टेक्निकल सेन्टरको मैदानमा हुने छ। यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेड, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचको खेल फिफा टेक्निकल सेन्टरमा हुनेछ। बिहीबार नै जवई खेल मैदानमा सरस्वती मावि र ज्ञानपुञ्ज मावि, नवीन औद्योगिक र बुटवल ग्लोरीका बीचमा खेल शुरु हुनेछ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८,१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८,८ हजारका दरले पुरस्कार पाउनेछन्।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend