बुटवल, बुटवल उपमहानगरपालिकाको आयोजनामा शुरु भएको अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।
माघ २५ गते बिहीबार शुरु भएको प्रतियोगिताअन्तरगत शनिबार फाइनल खेल हुन लागेको हो। शनिबारै अन्तिम चरणका खेल सम्पन्न गरी फाइनल खेल हुनेछन्।
प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन्। जसअन्तरगत शुक्रबार भएका खेलमा मणिमुकुन्द मावि र नयाँ गाउँ माविका बीचमा भएको खेलमा ट्राइबेकरमा मणिमुकुन्द ४,२ गोल अन्तरले विजयी भएको छ। यस्तै नहरपुर मावि र प्रगति माविका बीचमा भएको खेलमा प्रगति मावि ट्राइबेकरबाट ३,१ अन्तरले विजयी भएको छ। देवीनगरस्थित खेल मैदानमा भएको अर्को खेलमा स्कलर्स होम र सिद्धेश्वरी माविबीचको खेल २,० अन्तरले स्कलर्सले जितेको छ भने अक्सफोर्ड मावि र नवरत्न माविबीचको खेल ५,० गोल अन्तरले अक्सफोर्डले जितेको छ।
यस्तै शुक्रबार नै जवई खेलमैदानमा भएको खेलमा नवीन ओद्योगिक माविले अन्नपूर्ण माविलाई २,० गोलअन्तरले हराएको छ। उजिरसिंह मावि र न्युभिजन माविका बीचमा भएको खेलमा उजिरसिंह २,० गोलअन्तरले विजयी भएको छ। यस्तै ज्ञानोदय मावि र गार्गी माविबीच भएको खेलमा ज्ञानोदय ४,० गोलअन्तरले विजयी भएको छ भने कान्ति मावि र जितेश्वरी माविबीच भएको खेलमा कान्ति ४,० अन्तरले विजयी भएको छ।
प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८,१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए। उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८,८ हजारका दरले पुरस्कार पाउनेछन्।

लुम्बिनी रिभ्यू