एलिना आचार्य
भैरहवा, रुपन्देहीमा जारी छैटौं खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौं र धनगढी क्रिकेट एकेडेमी (डिसी) भिड्ने भएका छन् ।
सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) आयोजक टिम स्टार क्रिकेट एकेडेमी लाई ३५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
जिल्लाको तिलोत्तमा नगरपालिकास्थित एक्साट्रेक ओभल क्रिकेट मैदानमा भएको खेलमा स्टार क्रिकेट एकेडेमीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गर्यो । पहिला ब्याटिङ गरेको डिसिएले निर्धारित ४० ओभरको खेलमा २५ ओभर २ बल पुग्दा सम्पुर्ण विकेटको क्षतिमा ९९ रन बनाएको थियो । डिसिएका लागि आशिष लुहारले ३४ रन र निसान रेग्मीले १२ रनको योगदान दिए । बलिङमा स्टारका लागि सुभम पाण्डे र प्रिन्स पालले ३ विकेट, शुभम खनालले २ विकेट लिए ।
जवाफमा १०० रनको लक्ष्य पछ्याउने क्रममा स्टारले २७ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ६५ रन बनायो र ३५ रनले पराजित भयो । स्टारका सुगम पाण्डे ८ रन र प्रदिप साहनीले ८ रनको योगदान दिए । बलिङतर्फ डिसिएका सचिन साउदले ३ विकेट र सचिन मल्लले ३ विकेट लिएका थिए । सोमवारको दोस्रो सेमिफाइनल खेलमा धनगढी क्रिकेट एकेडेमीका सचिन साउद म्यान अफ द म्याच भएका थिए । पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले आफ्ना बुवाको स्मृतिमा प्रतियोगिता आयोजना गरेका हुन् ।
चैत्र २० गतेसम्म चल्ने प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका ८ टीम सहभागी छन् । प्रतियोगितामा बिजेता टिमले ५० हजार र उपबिजेता टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, उत्कृष्ट खेलाडीलाई ५ हजार, बेस्ट ब्याटर र बलरलाई ३–३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक स्टार क्रिकेट एकेडेमीले जनाएको छ

लुम्बिनी रिभ्यू