बुटवल, राष्ट्रिय खेलकुद परिषदका नव नियुक्त उपाध्यक्ष ध्रुव आचार्यले परिषदभित्र रहेका बेथिती र विकृतिलाई हटाएर स्वच्छ बनाउने बनाउने बताउनु भएको छ ।
नेपाल खेलकुद पत्रकार मंच रुपन्देहीले शनिबार रुपन्देहीमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले परिषदभित्र धेरै बेथितीहरु रहेको बताउनुभयो । उहाले परिषदलाई खेलाडी र खेलकुदको परिषद बनाउने बताउदै खेलकुद सामग्री वितरण देखि पुर्वाधार निर्माणसम्ममा भएको गलत गतिविधिलाई रोकी सही बाटोमा हिडाउने बताउनुभयो । उहाले केही व्यक्तिहरुले घरको अलिखित कानुन जसरी नै राखेपलाई चलाउन खोजेको प्रमाण समेत भेटेको बताउदै कानुनसंग जोडेर यसको चिरफार गर्ने दाबी गर्नुभयो ।

उपाध्यक्ष आचार्यले दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता हतारमा लतारपतार नगरी कानुन प्रक्रिया पुरा भएपछि मात्रै गरिने बताउनुभयो । प्रक्रिया र समय सीमा नपुगी खेलकुद प्रतियोगिता गर्न सकिने सम्भावना नभएको बताउदै उहाले भौतिक संरचनाको विषयमा संघ, जिल्ला, स्थानिय सरकारको अधिकार क्षेत्रको विषयमा कार्यदल बनाएर टुगो लगाउने बताउनुभयो ।उहाले देशभर वर्षेनी धेरै प्रतियोगिता आयोजना हुने भएपनि सरोकारवाला संघमा त्यसको तथ्याक नराखिने गरेको भन्दै यसलाई प्राथमिकता दिने बताउनुभयो । राखेपमा हाल १०७८ कर्मचारीको दरबन्दी रहेकोमा ७ सय जना कार्यरत रहेको भन्दै समयसापेक्ष कर्मचारी समायोजन गर्ने उहाको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव चन्द्र आचार्य, रुपन्देही क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाड, रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, नगर खेलकुद विकास समिति, तिलोत्तमाका संयोजक लोक पुन लगायतले राखेपलाई खेल र खेलाडीको विकासमा लगाउन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंघ रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले राखेपका काठमाडौ केन्द्रीत कार्यक्रमलाई जिल्लाहरुमा पनि पठाउन आग्रह गर्नुभयो ।

लुम्बिनी रिभ्यू