काठमाडौं । बडादसैँ, तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गरी नेपाल प्रहरीले देशभर ५० हजार ४५८ प्रहरी परिचालन गरेको छ।
चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, अनलाइन ठगी तथा तस्करी नियन्त्रण गर्न ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना–२०८३’ लागू गरिएको नेपाल प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ भने सीमावर्ती क्षेत्रमा १०८ सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सार्वजनिक यातायातको सुरक्षा, चालकको स्वास्थ्य तथा सवारीसाधनको अवस्था जाँच र राजमार्गमा निगरानीलाई समेत प्राथमिकता दिइएको छ।
प्रहरीले सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर तथा बडी क्यामेरामार्फत निगरानी बढाएको जनाएको छ। साथै, चाडपर्व मनाउन घर छाडेर बाहिरिने नागरिकलाई घरको सुरक्षा सुनिश्चित गर्न, सामाजिक सञ्जालमा आफू बाहिर गएको सूचना सार्वजनिक नगर्न तथा डिजिटल र वित्तीय ठगीबाट सावधान रहन आग्रह गरेको छ।
नेपाल प्रहरीले चाडपर्व सुरक्षित बनाउन नागरिकलाई शङ्कास्पद गतिविधिबारे नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनसमेत अनुरोध गरेको छ।

लुम्बिनी रिभ्यू