• Monday 23rd November 2026

बुटवल बहुउद्देश्यीय सहकारी संस्थाको २९औँ वार्षिक साधारणसभा 

बुटवल बहुउद्देश्यीय सहकारी संस्थाको २९औँ वार्षिक साधारणसभा 


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवल बहुउद्देश्यीय सहकारी संस्थाको २९औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाका कार्यवाहक अध्यक्ष बुद्धिमान थापाको अध्यक्षता तथा पूर्वअध्यक्ष एवं सल्लाहकार लोकनाथ भुसालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो। संस्थामा १ हजार ६ सय ६५ जना सेयर सदस्य रहेका छन्। साधारणसभामा अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिका प्रतिवेदन प्रस्तुत गरिएको थियो। कोषाध्यक्ष बनिका देवी शर्मा भट्टराई तथा लेखा समितिका संयोजक देवीराम खनालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म संस्थाको कुल पुँजी १७ करोड ६० लाख ६४ हजार २ सय ७६ रुपैयाँ र कुल दायित्व तथा पुँजी १ अर्ब ७५ करोड १६ लाख १६ हजार १ सय ११ रुपैयाँ रहेको छ।

कार्यवाहक अध्यक्ष बुद्धिमान थापाले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी अप्ठ्यारो परिस्थितिमा रहे पनि ऋण तथा ब्याज असुलीमा ध्यान दिँदा गत आर्थिक वर्षको तुलनामा आर्थिक कारोबार बढेको बताउनुभयो। उहाँले चुनौतीपूर्ण अवस्थाका बीच पनि संस्थालाई थप व्यवस्थित गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। त्यस्तै, प्रमुख अतिथि लोकनाथ भुसालले सहकारी क्षेत्रमा देखिएको आर्थिक समस्याको प्रभाव बुटवल बहुउद्देश्यीय सहकारीमा पनि परेको बताउनुभयो। ऋण असुली प्रभावित हुँदा संस्था अप्ठ्यारो अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले नयाँ कार्यसमितिले संस्थालाई सुधार गर्दै अघि बढाउनुपर्ने बताउनुभयो। पूर्व अध्यक्ष अर्जुन राणाभाट , लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता यमलाल खनाल लगायतले बोल्दै अरु सहकारीको तुलनामा बुटवल बहुउद्देश्य सहकारी संस्थाको आर्थिक कारोबार धेरै भएकाले सजक भएर काम गर्नुपर्ने बताउनुभयो ।

साधारणसभाका अवसरमा अध्ययनमा उत्कृष्टता हासिल गर्ने सेयर सदस्यका छोराछोरी, ज्येष्ठ सदस्य तथा असल सदस्यलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साधारणसभासँगै सम्पन्न विशेष अधिवेशनबाट राजु पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको छ। नवनिर्वाचित समितिले पद तथा गोपनीयताको शपथ आइतबार लिएपछि कार्यभार सम्हाल्नेछ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend