• Saturday 25th July 2026

कपिलधाम साहित्य तीर्थमा जनकवि लेखनाथ ज्ञवालीको शालिक अनावरण

कपिलधाम साहित्य तीर्थमा जनकवि लेखनाथ ज्ञवालीको शालिक अनावरण


  • लुम्बिनी रिभ्यू

कपिलवस्तु । लेखनाथ स्मृति प्रतिष्ठान शङ्करनगर रूपन्देहीले जनकवि स्वर्गीय लेखनाथ ज्ञवालीको १२ ओैँ स्मृति दिवस कपिलधाम कपिलवस्तुमा शालिक अनावरण, कृति विमोचन स्रष्टा सम्मान, रचना वाचनका साथ मनाएको छ ।


कार्यक्रममा प्रमुख अतिथि माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले स्वर्गीय लेखनाथ ज्ञवालीको शालिक अनावरण गर्दै कपिलधाममा बहुआयामिक विकास हुन लागेको भन्दै साङ्ख्य योगका प्रवर्तक कपिल ऋषिको तपस्थल भएको हुनाले यो धामको सर्वाङ्गीण विकासमा हामी सब‌ै लाग्नुपर्छ भन्नु भयो । उहाँले कपिलधाममा बन्न लागेको साहित्यतीर्थ नेपालको साहित्य कला र सँस्कृतिको साझा तीर्थ भएको बताउँदै यस धामको अध्यक्ष शङ्कर आचार्यको योगदानको चर्चा गर्नु भयो ।


अर्का अतिथि प्रज्ञा प्रतिष्ठानका सचिव जगतप्रसाद उपाध्यायले कपिल ऋषिको तपस्थल यस पावन धाममा बन्न लागेको साहित्य तीर्थ सिङ्गो नेपाली जनताको साझा तीर्थ हो भन्दै अब राजधानी र मोफसलको धारणा हटाउनु पर्छ, जहाँ मेहनेत गरेर स्वर्गीय भूमि बनाउन सकिन्छ त्यही केन्द्र हो भन्दै यसमा योगी नरहरीनाथ, जय पृथ्वीबहादुर सिंहलगायतका व्यक्तित्वहरुका शालिक राख्न सुझाउनु भयो । उहाँले लेखनाथ ज्ञवालीको साहित्यको योगदानको चर्चा गर्नु भयो ।
काव्य विभाग प्रमुख प्रा।डा। हेमनाथ पौडेलले लेखनाथ ज्ञवालीको बहुआयामिक व्यक्तित्वको प्रकाश पार्दै उहाँको योगदानलाई संस्थागत रुपमा सिर्जनात्मक काम गर्दै आउनु भएकोमा धन्यवाद दिनु भयो । उहाँले टिकट प्रकाशन र उहाँका उत्कृष्ट रचना पाठ्यपुस्तकमा समावेश गर्नु पर्छ भन्दै साहित्य तीर्थमा बनाएको मापदण्ड अनुसार लुम्बिनीलाई महत्व दिन अनुरोध गर्नु भयो ।


कार्यक्रममा युवा साहित्यकार लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनी प्रदेशका महासचिव अर्जुन शरलाई लेखनाथ ज्ञवाली स्मृति प्रतिभा पुरस्कार र साहित्यकार विजु पछाईलाई कुन्ता ज्ञवाली स्मृति पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कपिलधामका अध्यक्ष शङ्करप्रसाद आचार्यलाई अभिन्दन गरिएको थियो । कार्यक्रममा प्रज्ञा प्रतिष्ठानबाट आउनु भएका अतिथिहरुलाई अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा लेखनाथ ज्ञवाली रचित कविता र काव्य, लक्ष्मण ज्ञवाली रचित किसान कविता सङ्ग्रह, चतुर्भुज आत्रेय रचित संस्कार क्रान्ति गरौं कविता सङ्ग्रह, दुर्गाप्रसाद शर्मारचित मेरो जीवन यात्रा,सागर पौडेल रचित ज्ञान मन्जरी कविता सङ्ग्रहको विमोचन गरिएको थियो ।


कार्यक्रममा प्रश्रित प्रतिष्ठानका अध्यक्ष प्रा।डा। कपिल लामिछाने,सिद्धार्थ साहित्य समाजका अध्यक्ष डिल्लीराज भट्टराई, प्राज्ञ बुँद राना, प्रेस सेनानी अर्जुन ज्ञवाली, वरिष्ठ साहित्यकार ऋषिराम भुसाल, प्राडा हिरण्य ज्ञवाली, कथाकार वनमाली निराकार, कथाकार विजय सागर, साहित्यकार रुद्र ज्ञवाली, हिमलाल ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष तथा लुम्बिनी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष सिर्जना ज्ञवाली, बुटवल मिडिया प्रकाशन प्रालिका अध्यक्ष डा बालकृष्ण चापागाईं, साहित्यकार गुरुदत्त ज्ञवाली, कपिलधाम अध्यक्ष शङ्कर आचार्य, सम्मानित अर्जुन शर, विजु पछाई, छन्दवादी समाजका संस्थापक कविराज पौडेल,साहित्यकार चतुर्भुज आत्रेय, साहित्यकार सिर्जना पौडेलले कविता वाचन तथा विचार प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रम लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेलको अध्यक्षता र मन्जु पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend