बुटवल । नेकपा एकिकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने प्रतिबद्धतापत्र सार्वजनिक गरेकाे छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरि नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्रि) बनाउने योजना सार्वजनिक गरेको हो ।
एकिकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जिव भण्डारीलाई उम्मेद्वार बनाएको छ । पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठकहरु रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने उल्लेख गरेको छ ।
नगरपालिकाका पदाधिकारीले आफ्नै निजि साधन प्रयोग गर्ने तिलोत्तमाको प्रतिबद्धता छ । यसैगरी नगरमा सरकारी सामुदायिक विद्यालयले अग्रेजी माध्यमको वाहनामा शुल्क लिन नपाउने ब्यवस्था गर्ने उपमेयरका उम्मेद्वार इञ्जिनियर सञ्जिब भण्डारीले बताए ।त्यसैगरि नगरपालिकाका नागरिकहरुलाई सिटि कार्ड बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ।
तिलोत्तमा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सिप खोज्ने युवा विद्यार्थीहरुलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताईन ।

लुम्बिनी रिभ्यू