
बुटवल । भौतिक विकासले मात्रै देश संवृद्ध, नागरिक खुसी र सन्तुष्ट नहुने भएकाले खुसी र सस्कृतिमा आधारित मानविय विकासमा जोड दिन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
संयुक्त राष्ट्रसंघको मानव विकास प्रतिवेदन २०२१/२०२२ को सोमबार बुटवलमा आयोजित सार्वजनीक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । दिगो विकासमा आधारित योजना बनाउन र लक्ष्यहरु भेटाउनेगरी काम गर्न सके मानवीय अभाव मेटिने र मानव विकासमा रुपान्तरण हुने उनीहरुले सुझाब दिए । त्यसका लागि नागरिकको गुमेको रोजगारी फर्काउने, वातावरणमैत्री लगानी गर्ने , शिक्षा र स्वास्थ्यमा सामाजिक सुरक्षा कायम गर्ने विकास योजना बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला, कानुन तथा संचार मन्त्री तिलकराम शर्माले कोभिड संक्रमण, युक्रेनमा जारी युद्ध, जलवायू परिवर्तन लगायतका असरले विश्व नै मानवीय विकास सुचकांकमा पछाडि धकेलिएको अवस्थामा देशको अवस्था अझ दयनीय बनेको बताए । नागरिकहरु अभाव र अनिश्चिततामा रहेकाले मानसिक तनाब बढेको बताउदै उनले अब तीनतहकै सरकारले नागरिक अभाव मेटाउने र नागरिक खुसी हुने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ‘स्वास्थ्य, शिक्षा, आम्दानी र जीवनस्तरमा ह्रास आएको छ,’ उनले भने, ‘यही ह्रासका कारण आफूलाई असुरक्षित ठान्ने र तनाव लिने नागरिक बढेका छन् । यो चिन्ताको विषय हो ।’
प्रतिवेदनले नेपाललाई १४३ औ स्थानमा राखेको छ । जसमा नेपालले ०.६०२ अंक पाएको छ । जबकि २०१९ मा ०.६११ पुगेको थियो । मानव विकास सूचकाकमा छिमेकी मुलुक चिन ७९ र दक्षिणी छिमेकी भारत १३२ औं स्थानमा छन् ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नागरिकलाई तत्कालिन आवश्यकताका कार्यक्रम र दिगो विकासमा आधारित कार्यक्रमलाई जोडेर लैजान समेत प्रतिवेदनले औलाएका मानव विकासका खाडल पुर्न सकिने बताए । त्यसकालागि लुम्बिनी प्रदेश सरकारले दिगो विकासका लक्ष्यमा आधारित पञ्चवर्षिय योजना बनाएर काम गरेको भएपनि ती पूर्ण नभएको उनले जनाए ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव दीपक काफ्लेले महामारी र युद्धले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई हानी पुर्याउनुका साथै अर्थतन्त्रलाई पनि डामाडोल बनाएकाले नेपालजस्तो विकाशील राष्ट्र गम्भिर हुनुपर्ने बताए । कुशल नेतृत्व, आत्मनिर्भर हुने, आवश्यकतालाई सम्बोधन गर्ने खालका योजना बनाउन सके यस्तो संकटलाई कम गर्दै लैजान सकिने उनले जनाए ।
अर्थ तथा सहकारी सचिव नेत्रप्रसाद सुवेदीले नागरिक स्वरोजगार, आत्मनिर्भर र स्थानीय स्रोत साधनको उपयोग हुने योजनालाई प्राथमिकतामा राख्न सके मानविय विकासको सुचकांकलाई अगाडि ल्याउन सकिने बताए ।
स्थानीय तहका तर्फबाट बोल्दै सुनवल नगरपालिका प्रमुख विमला अर्यालले लक्षित समूदाय र तिनको आवश्यकता पहिचान गर्न नसक्दा समस्या भएको बताइन् । अनिश्चिततामा पनि अवसर हुने भएकाले विभाजित समाजलाई एकिकृत र खाद्य संकट टार्न नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताइन् ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक रन्जना पण्डितले लगानी, सुरक्षा, सस्कृति र सहभागितालाई पहिचान गरेर काम गरे आर्थिक र सामाजिक सुधार ल्याउन सकिने बताइन् ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र लुम्बिनी वौद्ध विश्वविद्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी वौद्ध विश्वविद्यालयका विदेश मामला प्रमुख संजीव हुमागाईले मानव विकास प्रतिवेदन प्रस्तुत गरेका थिए भने युएनडिपीका लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले प्रतिवेदनको सारंश र उद्धेश्यबारे बताएका थिए । लुम्बिनी वौद्ध विश्वविद्यालयका उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. विनोद ढकाल,आर्थिक र विकास विज्ञ मोहमद याकुवले मानव विकास कसरी गर्नेभन्ने राय राखेका थिए भने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे, तिलोत्तमाका बालकृष्ण खाड र सैनामैना प्रमुख फणिन्द्र शर्माले दिगो विकास लक्ष्यमा आधारित भएर काम गर्ने र मानव विकास सुधार्ने प्रतिवद्धता जनाएका थिए ।

लुम्बिनी रिभ्यू